काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेलाई ‘टोले गुण्डा’को संज्ञा दिएका छन् । उनले लामिछानेमाथि पटक–पटक जेल आउने–जाने ’पटके’ व्यवहार देखिएको टिप्पणी गरेका छन् ।
आज सामाजिक सञ्जालमार्फत ढकालले लामिछानेविरुद्ध कडा शब्द प्रहार गरेका छन् । उनले रविको मुद्दाहरू अदालतमा दर्जनौं स्थानमा चलिरहेको उल्लेख गर्दै, कुनै अदालतबाट छुटे पनि अर्को अदालतबाट पक्राउ पर्न सक्ने र त्यसैले जेल आउने–जाने उनको बानीले अचम्म मान्नुपर्ने अवस्था नरहने जिकिर गरे ।
ढकालले लेखेका छन्, ‘रवि दाइका मुद्दाहरू १८–२० वटा अदालतमा छन् । कुनै अदालतबाट छुट्न सक्छन्, अर्को अदालतबाट प्रक्राउ पर्न सक्छन् । यिनी जेल आउजाउ गरिरहे पनि अचम्म नमान्नुस् । तपाईंहरूकै टोलमा देखिने गुण्डा–ठगहरू पनि यस्तै गरी जेल आउने–जाने गर्छन् । यस्तै व्यवहार गर्नेहरूलाई चलनचल्तीको भाषामा “पटके” भनिन्छ । रवि दाइ पनि अब “पटके” भइसक्नुभएको छ ।’
ढकालले लामिछानेको यो अवस्था रास्वपालाई गम्भीर हानि पु¥याइरहेको आरोप लगाए । उनले रविको जेल आउने–जाने सिलसिलाले न पार्टी अघि बढ्न सकेको छ, न वैकल्पिक राजनीतिक अभियानलाई स्थायित्व मिलेको छ भन्दै रविले पार्टी र अभियान दुवैलाई ‘डिस्टर्ब’ गरिरहेको उल्लेख गरे ।
‘रवि दाइको “पटके” अवस्थाका कारण पार्टीभित्र कोही निर्णायक बन्न सक्दैन, बाहिरबाट वैकल्पिक राजनीति अघि बढ्न सक्दैन । यिनी आऊ–जाऊ गरेर न त आफू हराउँछन् न अरूलाई बिर्सन दिन्छन् । अन्ततः यसको फाइदा कांग्रेस, एमाले र माओवादीजस्ता परम्परागत पार्टीहरूलाई नै पुग्नेछ । तीतो लागे पनि सत्य यही हो,’ ढकालले भनेका छन् ।
प्रतिक्रिया दनुहोस्