काठमाडौं : गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक आन्दोलनका कमान्डर दुर्गा प्रसाईँ आफू पक्राउ पर्ने डरले नेपालबाट भागेर भारतका चार सहरको चक्कर काटेको पाइएको छ । शुक्रवार प्रहरीले झापाको काकडभित्ता नाका हुँदै काठमाडौं ल्याइएका प्रसाईँ घटना भएकै दिन काठमाडौंबाट भागेर झापा हुँदै सिलगुडी पुगेको पाइएको छ ।
तीनकुनेमा प्रहरीलाई नै पेल्ने गरी गाडी कुदाएका प्रसाईँकै उक्साहटमा आन्दोलनकारीको समूहले विभिन्न सरकारी तथा निजी सम्पत्तिमाथि तोडफोड गरेको थियो । घटनामा दुई जनाको मृत्यु भएको थियो भने आन्दोलनकारीले व्यक्तिको घरमा आगो लगाउँदा एभिन्युज टिभीका पत्रकारको समेत आगोमा जली मृत्यु भएको थियो । प्रहरीले गोली चलाउँदा एक आन्दोलनकारीको मृत्यु भएको थियो भने २० जनामाथि गोली चलेको थियो ।
सोही घटनाका मुख्य कमान्डर र योजनाकार रहेका भनिएका दुर्गा प्रसाईँ भने घटना लगत्तै काठमाडौंबाट भागेर बनेपा, सिन्धुली, उदयपुर हुँदै झापाबाट काकडभित्ता पुगेका थिए ।
करिब दुई साता भारतमा लुकेर बसेका प्रसाईँलाई नेपाल प्रहरीले आसामको निकासी चौलकारामा रहेको रुद्रेश्वर हनुमान मन्दिर परिसरबाट नियन्त्रणमा लिएको थियो । प्रसाईँलाई नियन्त्रणमा लिन नेपाल प्रहरीले आसाम प्रहरीको सहयोग लिएको थियो ।
बिहीबार साँझ नियन्त्रणमा लिइएका प्रसाईँलाई बिहीबार बिहान झापाको काकडभित्ता नाकामा ल्याएर आसाम प्रहरीले बुझाइदिएको थियो । त्यस लगत्तै नेपाल प्रहरीले प्रसाईँलाई झापाबाट पक्राउ गरिएको जानकारी दिएको थियो ।
यस्तो छ प्रसाईँको नेपालबाट भागेर भारत पुगेपछिको टाइमलाइन
नेपालमा राजा फर्काउन भन्दै थालिएको आन्दोलनमा कमान्डर बनाइएका प्रसाईँ उनी आफैले नेतृत्व गरेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक समेत हुन् । पूर्व राजा ज्ञानेन्द्रलाई सत्तामा ल्याउन भनी गरिएको आन्दोलनलाई राजावादी समूहले प्रसाईँलाई कमान्डर तोकेका थिए ।
जनसभा गर्ने भनिएकामा उक्त दिन प्रसाईँले सुरक्षामा खटिएका प्रहरीलाई पेल्ने गरी अनियन्त्रित तवरले कार मात्रै चलाएनन्, ‘आयो आयो’ भन्दै भिडलाई उत्तेजित बनाउने काम गरे । उनकै उक्साहटमा भिड अनियन्त्रित भई हिंसामा परिणत हुँदा आन्दोलनमा सहभागी एक युवक र समाचार संकलनका लागि पुगेका पत्रकारको समेत मृत्यु भयो । त्यस लगत्तै उनी भागेर भारत पुगेका थिए ।
तीनकुनेबाट भागेर पुष्कर खतिवडाको घरमा लन्च !
घटना लगत्तै शान्तिनगर क्षेत्रको एउटा सटर भित्र लुकेर बसेका प्रसाईँ त्यहाँबाट बडी गार्डको सहयोगमा बिएबी ४२०८ नम्बरको स्करपिओे चढेर भागेका थिए । तीनकुनेबाट स्करपिओे गाडीमा ललितपुर, इमाडोलमा रहेको धर्म गुरु भन्ने पुष्कर खतिवडाको घरमा पुगेका थिए । खतिवडाको घरमा पुगेर प्रसाईँले लन्च खाई त्यहाँबाट चापागाउँसम्म पुगेको भए पनि त्यहाँबाट फेरि फर्केर सल्लाघारी हुँदै बनेपा, सिन्धुलीको बाटो हुँदै भागेको पाइएको छ । चापागाईँ क्षेत्रमा उनको व्यापक खोजी भएको र पक्राउ पर्ने भयले उनी चापागाईँबाट फेरि धोबीखोला करिडोरको बाटो भक्तपुरको सल्लाघारी, काभ्रेको नाला हुँदै बनेपा र त्यहाँबाट नेपालथोक, सिन्धुली हुँदै उदयपुर पुगी झापा पुगेका थिए । घटनाको लगत्तै फरार भएका प्रसाईँ रातभरको यात्रा गरेर झापा पुगेका थिए ।
चैत १६ गते नै सिलगुडी प्रस्थान
काठमाडौंबाट कहिले आफैँ त कहिले सहयोगीले गाडी चलाएर रातभरको यात्रापछि झापा पुगेका प्रसाईँ झापा पुगे लगत्तै त्यहाँबाट पनि भागेर पानीट्यांकी हुँदै वेस्ट बङ्गालको सिलगुडी पुगेका थिए । त्यहाँबाट पनि भागेर प्रसाईँ चैत १६ गते राती नै आसाम पुगेका थिए ।
आसामबाट ‘नेपालमै छु’ भन्दै भिडियो वक्तव्य
प्रसाईँले घटनाको पर्सिपल्ट एक भिडियो वक्तव्य सार्वजनिक गर्दै आफू भाग्ने व्यक्ति नभएको र आफू नेपालमै सुरक्षित रहेको बताएका थिए । आफूलाई जहाँ भेट्यो त्यहीँ गोली हान्नु भन्ने आदेश छ भनेकाले आफू सुरक्षित ठाउँमा रहेको भन्दै प्रसाईँले सेन्टिमेन्ट क्यास गर्ने कोसिस गरेका थिए ।
प्रसाईँले पहिलो पटक भिडियो वक्तव्य रेकर्ड गराएको मन्दिरजस्तो देखिने दृश्यलाई प्रयागराजको दृश्य रहेको दाबी गरिएको थियो । यद्यपि उक्त भिडियो वक्तव्यको ब्याक ग्राउन्डमा देखिएको मन्दिर कुनै ठुलो मन्दिर नभएर आसाममा रहेको एक हिन्दुवादी संघसंस्थाका प्रतिनिधिको घरभित्र रहेको सानो मन्दिरको दृश्य रहेको प्रहरीले जनाएको छ ।
आसामबाट भागेर लखनउ, एक रात बसेर दिल्ली प्रस्थान
आसाममा दुई दिन बसेपछि प्रसाईँ त्यहाँ पनि आफू सुरक्षित नरहेको महसुस गरी त्यहाँबाट पनि भागेर लखनउ पुगेको पाइएको छ । रातभर कारमा यात्रा गरेर प्रसाईँ आसामबाट गुवाहटी, सिलगुडी, दरभंगा, मुजफ्फरपुर हुँदै लखनउ पुगेका थिए ।
नेपाल प्रहरीले पहिलो पटक प्रसाईँ लखनउ पुगेको जानकारी पाएपछि प्राविधिक विश्लेषण गरी विशेष ब्युरोको टोली प्रसाईँलाई नियन्त्रणमा लिन भनेर लखनउ पुगेको थियो । तर नेपालबाट प्रहरी पुगेको सुइँको पाएपछि प्रसाईँ लखनउबाट पनि भागेर रातारात दिल्ली पुगेका थिए । प्रहरीको विशेष ब्युरोको टोली भने प्रसाईँलाई पछ्याउँदै दिल्लीसम्म पनि पुगेको थियो । यता प्रसाईँ दौडधुप बढी भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट एक डिएसपीसमेत प्रसाईँको खोजीमा दिल्ली पुगे ।
लखनउबाट रातारात दिल्लीको यात्रा, आश्रय दिन अस्वीकार
तर प्रसाईँ भने लखनउमा एक रात मात्रै बसेर त्यहाँबाट अर्को रात दिल्ली पुगेका थिए । तर दिल्लीमा जसले आश्रय दिने भनेका थिए, ती व्यक्ति र समूहले प्रसाईँलाई आश्रय दिन नसक्ने बताएपछि प्रसाईँ दिल्लीमा मात्रै चार घण्टा बसेको पाइएको छ ।
दिल्लीमा अनुकूल नभएपछि राजस्थानतर्फको यात्रा
लखनउबाट कारमै दिल्लीसम्म पुगेका प्रसाईँ त्यहाँ पनि खतरा भएपछि मात्रै चार घण्टा बसेर दिल्लीबाटै कारमा नै राजस्थान पुगेका थिए । राजस्थानको भरतपुर भन्ने स्थानमा एक दिन बसेर प्रसाईँ त्यहाँ पनि आफू अनुकूल वातावरण नभएपछि पुनः आसाम फर्किएका थिए ।
राजस्थानबाट भागेर फेरि आसाममा
नेपालको माहौल केही शान्त भएको अनुमान गरी सुरक्षाको ग्यारेन्टी भए आफू फर्कने भन्दै भिडियो वक्तव्य जारी गरेका प्रसाईँले दोस्रो पटकको भिडियो सन्देशमा भने ब्याकग्राउण्ड समेत हटाएर ‘क्रोमा’ गरेका थिए । उक्त भिडियो राजस्थान वा आसामबाटै लिइएको हुनसक्ने बताइएको छ ।
आसाममा एक हिन्दुवादी नेताको घरमा शरण लिएर बसेका प्रसाईँलाई नेपाल प्रहरीले ट्र्याक गरेको थियो । प्राविधिक विश्लेषण र इन्टेलिजेन्सको प्रयोग गरेर प्रसाईँ भारत आसामको निकासी चौलकारा क्षेत्रमा रहेको जानकारी पाएको थियो ।
दिल्लीबाट भागेपछि नेपाल प्रहरीको ‘राडार’ बाहिर पुगेका प्रसाईँको खोजीमा नेपाल प्रहरीले दिल्लीमै प्रसाईँका एक सहयोगीलाई समेत पक्राउ गरेको थियो । ती सहयोगीकै बयानका आधारमा प्रसाईँ राजस्थान पुगेको पत्ता लागेको थियो । त्यसपछि नेपाल प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरी प्रसाईँको लोकेसन ट्र्याक गर्ने कोसिस गरेको थियो ।
राजस्थानको भरतपुर भन्ने स्थानमा प्रसाईँ पुगेको भन्ने जानकारी पाएपछि प्रहरीले भरतपुरमै प्रसाईँका एक सहयोगीलाई नियन्त्रणमा लिई सोधपुछ गरेको थियो । तर जति बेला प्रसाईँको सहयोगीलाई नियन्त्रणमा लिइएको थियो, त्यति बेला प्रसाईँ राजस्थानबाट फेरि आसाम आइपुगेका थिए ।
त्यसपछि नेपाल प्रहरीको टोली दिल्लीबाट आसाम पुगेको थियो । प्रसाईँ पहिलो पटक पुगेको स्थान वरपर नै पुगेको प्राविधिक विश्लेषणबाट पुष्टि भएपछि नेपाल प्रहरीको टोली आसामको निकासी चौलकारा क्षेत्रमा रहेको ती व्यक्तिको घर रेकी गर्न पुगेको थियो ।
लोकेसन ट्र्याकपछि आसाम प्रहरीसँग समन्वय, तर असहयोग
प्रहरी टोली आसाममा पुगेर प्रसाईँ लुकेको घरको रेकी गरेपछि प्रसाईँ त्यहीँ रहेको पुष्टि भयो । तर विदेशी भूभागमा पुगेर नेपाल प्रहरीले आफ्नै तरिकाले नियन्त्रणमा लिन सम्भव थिएन । त्यसपछि फिल्डमा रहेका डिएसपीले दुर्गालाई नियन्त्रणमा लिन सहयोग गरिदिन आसाम प्रहरीसमक्ष अनुरोध गरे ।
नेपाल प्रहरीको अनुरोध आसामको स्थानीय प्रहरीले आफ्नो चेन अफ कमान्डमा जानकारी गरायो । त्यसको जानकारी आसाम राज्यका प्रहरी प्रमुखसँग समेत पुग्यो । तर आसाम राज्यका प्रहरी प्रमुखले प्रसाईँलाई नियन्त्रणमा लिई नेपाल प्रहरीलाई दिन अस्वीकार गरे । प्रक्रिया पूरा गरेर आउन भनेपछि समस्या भयो ।
चैत २८ गते साँझ प्रसाईँ नियन्त्रणमा
चैत २७ गते बुधवार नै प्रसाईँलाई नियन्त्रणमा लिने तयारी गरिएको भए पनि एक दिन थप समय लाग्यो । आसाम राज्यको प्रहरीले प्रसाईँलाई नियन्त्रणमा लिई बुझाइदिन गरिएको आग्रह अस्वीकार गरेपछि नेपाल प्रहरीको विशेष ब्युरोले कूटनीतिक बाटोबाट कुरा अगाडि बढायो । दूतावास र सरकारमार्फत नै कुरा भएपछि बल्ल आसाम प्रहरीले प्रसाईँलाई नियन्त्रणमा लिई बुझाइदिन सहमत भयो । तर प्रसाईँलाई आसाममै बुझाइदिने नभई नेपाल भारत सीमामा बुझाइदिने भन्दै नेपाल प्रहरीको टोलीलाई नेपालतर्फ पठाइदियो ।
नेपाल प्रहरी र भारतीय प्रहरीबिच समन्वय भएपछि डिएसपीको कमान्डमा रहेको नेपाल प्रहरीको टोली नेपालतर्फ लाग्यो । नेपाल प्रहरी नेपालतर्फ लागेको दुई घण्टापछि आसाम प्रहरीले प्रसाईँलाई आसामको निकासी चौलकारामा रहेको रुद्रेश्वर हनुमान मन्दिर क्षेत्रबाट नियन्त्रणमा लिई नेपाली सीमासम्म ल्याइदिएको थियो । त्यसपछि झापा प्रहरीले प्रसाईँलाई झापाबाट पक्राउ गरेको थियो ।
प्रसाईँ पक्राउको सूचना ब्युरोबाटै चुहियो, जटिलता हुने भएपछि झुट बोलियो
दुर्गा प्रसाईँ चैत २८ गते साँझ भारतको आसाममा पक्राउ परेको सूचना सुरुमा विशेष ब्युरोका प्रहरीले नै चुहाएका थिए । प्रसाईँ पक्राउ परेको जानकारी मिडियालाई दिएको ब्युरोको टोलीले पक्राउमा कानुनी जटिलता देखिने भएपछि पछि भने ‘थाहा नभएको’ जानकारी दिएको थियो । नेपाल प्रहरीले विज्ञप्ति नै निकालेर प्रसाईँ पक्राउ नपरेको बताएको थियो ।
विशेष ब्युरोको प्रहरीले हतारमा दिएको सूचनाले समस्या पार्ने भएपछि त्यसलाई ट्वीस्ट गर्न खोजिएको थियो । तर त्यसको भोलिपल्ट भने उनी पक्राउ परेको सूचना दिन केन्द्रीय प्रहरी बाध्य बन्यो ।
प्रसाईँलाई चैत २९ गते शुक्रवार झापाबाट विमानमार्फत काठमाडौं ल्याई काठमाडौं जिल्ला अदालतबाट अनुसन्धानका लागि १२ दिनको म्याद लिइएको छ । प्रसाईँसँगै पक्राउ परेका उनका सहयोगी दीपक खड्कालाई पनि अदालतले पहिलो पटक अनुसन्धानका लागि १२ दिनकै समय उपलब्ध गराएको छ ।
यसरी नेपालमा भीड भड्काएर विध्वंस मच्चाएका प्रसाईँ नेपालबाट भागेर भारत पुगे पनि त्यहाँ पनि उनी बेचैन देखिए । कुनै पनि स्थानमा टिकेर बस्न सकेनन् भने भाग्ने व्यक्ति होइन भनी सेन्टिमेन्ट क्यास गर्न खोजेका प्रसाईँ भारतको पाँच राज्यको चक्कर लगाएर चार सहरलाई सेल्टर बनाएको पाइएको छ
प्रतिक्रिया दनुहोस्