काठमाडौं : राजतन्त्र पुनस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन परिचालन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले तीनकुने घटनापछि पक्राउ परेका नेताहरुलाई छाड्न वैशाख २१ गतेसम्मको अल्टिमेटम दिएका छन् ।
आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै डा. गुरुङले नवराज सुवेदी लगायतका नेताहरुको नजरबन्द फुकुवा र अन्य नेताहरुलाई रिहाइ गर्नुपर्ने माग गरे ।
त्यस्तै वैशाख २१ गतेसम्म नेताहरुलाई नछाडिए वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने चेतावनी समेत दिए ।
‘वैशाख २१ गतेसम्म नवराज सुवेदीको नजरबन्द फुकुवा र हाम्रा साथीहरूको मुद्दा खारेज गरेर रिहाइ भएन भने २२ गते तीनकुनेमा सहादत प्राप्त भएका वीर सहिदको रगत लत्पतिएको माटोको टीका लगाएर सामूहिक गिरफ्तारी दिनेछौं,’ उनले भने, ‘हामी ज्यानको माया मारेर अगाडि बढ्ने छौं । सबैभन्दा अगाडि म हुन्छ । तपाईंहरू को–को आउनुहुन्छ आउनुस् ।’
त्यस्तै केही व्यक्तिहरु राजतन्त्र फर्काउनका लागि सशस्त्र आन्दोलनको कुरा गरिरहेको बताउँदै अहिले त्यसको सम्भावना नरहेको समेत स्पष्ट पारे । साथै आफूहरुको अल्टिमेटम सरकारले नसुनेमा २१ गतेपछि नयाँ आन्दोलनको घोषणा गरिने समेत जानकारी गराए ।
‘केही साथीहरू सशस्त्र आन्दोलनको कुरा पनि गर्नुहुन्छ । तर, अहिले सशस्त्र आन्दोलनको अवस्था होइन । महात्मा गान्धीले भद्र अवज्ञा आन्दोलन गरेर नै अंग्रेजलाई जितेका थिए । हामी पनि भद्र अवज्ञामा जान्छौं । २१ गते घोषणा हुन्छ,’ उनले भने ।
प्रतिक्रिया दनुहोस्