अछाम : अछामको जयगढ बजारका आगलागी पीडितलाई गाउँपालिकाले ६ लाख सहयोग गर्ने गर्ने भएको छ।
ग्यासको सिलिण्डर पड्किएर आगलागी भएका पीडितलाई गाउँपालिकाले ६ लाख उपलब्ध गराउने भएको हो। गाउँपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले तत्कालको राहतको लागि पीडितलाई ६ लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरिएको अध्यक्ष टेकबहादुर साउँदले जानकारी दिए। पीडित परिवारलाई अस्थायी रुपमा खाद्यन्न र आवासका लागि उक्त रकम दिने निर्णय भएको बताइएको छ।
उता सुदूरपश्चिम प्रदेश सरकारले जयगढमा भएको आगलागीबाट पीडित परिवारलाई ५० लाख रकम सहयोग गर्ने निर्णय गरेको छ। आगलागी पीडितको राहतका लागि नेपाली काँग्रेस अछामले एकलाख रकम सहयोग गर्ने घोषणा गरेको जिल्ला सहसचिव दिनेशकुमार स्वारले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको छ।
आगलागी भएको स्थानमा अछाम–२ का प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाह, प्रमुख जिल्ला अधिकारी आनन्द सारु, सुरक्षा, नेपाल रेडक्रसलगायत निकायहरु स्थलगत जानकारी लिनुभएको छ। यस्तै बुधबार आजै केही बेरमै गाउँकार्यपालिकाको आकस्मिक बैठक बसेर थप निर्णय लिइने बताइएको छ। पीडित परिवारको राहत तथा अन्य व्यवस्थापनका लागि संघीय, प्रदेश, जिल्ला र अन्य निकायसँग आवश्यक सहयोग गर्न उपाध्यक्ष बिन्दु रावलले अनुरोध गर्नुभएको छ। जयगढ बजारमा हिजो बेलुका करिब साढे ७ बजेबाट आगलागी हुँदा २७ घर जलेर ७ करोडभन्दा बढीको क्षति भएको आङ्कलन गरिएको छ।
प्रतिक्रिया दनुहोस्