धनगढी । विवादकैबीच मेनरोडमा रेलिङ लगाउन थालिएको भन्दै धनगढीका स्थानीयहरु आक्रोशित बनेका छन् । धनगढी उपमहानगरपालिकाले मेनरोड र सहिद गेट (६ लेन सडक)देखि भित्रीबाटोमा रेलिङ लगाउन सुरुगरेपछि स्थानीय आक्रोशित बनेका हुन् ।
उनीहरुले रेलिङ लगाउने नाममा धनगढी उपमहानगरपालिकाले निश्चित व्यक्तिहरुसँग रिस साँधेको आरोप लगाएका छन् ।
आक्रोशित स्थानीयका अनुसार धनगढी उपमहानगरपालिकाले धनगढी मेनरोडमा संवेदनशील ठाउँमा पनि धमाधम रेलिङ लगाइरहेको छ । साथै मेनरोड क्षेत्रमा घर पर्नेहरुलाई पनि अफ्ठ्यारो पर्नेगरी रेलिङ लगाउने काम भइरहेको स्थानीयहरुले बताएका छन् । अर्कोतर्फ बैंक तथा आइएमई जस्ता अन्त्यन्तै व्यस्त क्षेत्रमा पनि पार्किङ हुँदाहुँदै नगरपालिकाले रेलिङ लगाएर अफ्ठ्यारो बनाएको स्थानीयको गुनासो छ ।
स्थानीय र व्यापारीका कुरा नसुनेपछि उनीहरुले धनगढी उपमहानगरपालिकाको ‘नमस्ते मेयर एप’मा समेत गुनासो दर्ता गराएको बताएका छन् । तर उपमहानगरपालिकाले भने उक्त रेलिङ लगाउने काम सहरी विकास परियोजना अन्तर्गत भएको बताउँदै आएको स्थानीय व्यापारी नवराज अवस्थीले बताएका छन् ।
यता क्षेत्रीय सहरी विकास आयोजनाका इन्जिनियर नवीन कुमार सिंहले भने आयोजना क्षेत्रीय सहरी विकास आयोजनाको भए पनि सडकमा रेलिङ लगाउने विषयमा प्रत्यक्ष सरोकार धनगढी उपमहानगरपालिकाले नै राख्ने बताएका छन् । उनले स्थानीय तहसँग सहकार्य नगरी कुनै पनि डिपिआर तयार नगर्ने गरेको भन्दै रेलिङ लगाउने काम पनि धनगढी उपमहानगरपालिकाको सहकार्यमै अगाडि बढाइएको बताएका छन् ।
‘रेलिङ निर्माणको काम सबै विज्ञहरुसँगको सल्लाहपछि सुरु भएको हो’, उनले भने, ‘लगानी हाम्रो भए पनि प्रत्यक्ष संलग्नता धनगढी उपमहानगरपालिकाको छ । उपमहानगरपालिकाकै सल्लाह र सुझावअनुसार अघि बढेको हौँ, बढ्छौँ ।’
यता धनगढी उपमहानगरपालिकाले भने उक्त योजना आफू मातहत नभएको भन्दै पन्छिन खोजिरहेको छ । यसरी नागरिकका गुनासा र समस्याबाट पन्छिन खोजेपछि स्थानीयहरुले धनगढी उपमहानगरपालिकाले व्यक्ति हेरेर प्रतिशोध साँधेको आरोप लगाएका छन् ।
प्रतिक्रिया दनुहोस्