काठमाडौँ : अविरल वर्षाका कारण आएको बाढी र पहिरोले प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई सहयोग गर्न गायक दुर्गेश थापा राहत सामग्रीसहित घटनास्थलतर्फ प्रस्थान गरेका छन्।
हालैका दिनहरूमा नुवाकोटबाट निरन्तर उद्धार र राहतको अपिल गर्दै फोन तथा सन्देशहरू आएपछि आफू प्रभावित क्षेत्रतर्फ लागेको गायक थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। बाढी र पहिरोले धेरै परिवारको घरबास, खाद्यान्न तथा दैनिक जीवन तहसनहस बनाएको खबरले मन भारी बनाएकाले अलमल नगरी राहत बोकेर हिँडेको उनले उल्लेख गरेका छन्।
राहत टोलीले प्रभावित क्षेत्रमा पुगेर तत्काल आवश्यक पर्ने लत्ताकपडा, सिरक-डसना, बालबालिकाका कपडाहरू तथा अन्य दैनिक उपभोग्य सामग्रीहरू वितरण गर्ने योजना बनाएको छ।
“हामीसँग धेरै ठूलो सामर्थ्य नहोला, तर दुःखमा परेका आफ्नै नेपालीको अनुहार सम्झिँदा सानो सहयोग पनि ठूलो आशा बन्न सक्छ भन्ने विश्वास छ,” दुर्गेशले लेखेका छन्, “मलाई कलाकारिताको क्षेत्रमा यहाँसम्म ल्याउने दर्शक-श्रोताको माया र विश्वासको केही अंश आज दुःखमा परेकाहरूसम्म पुर्याउन पाउँदा भाग्यमानी ठानेको छु।”
साथै, उनले सामाजिक सञ्जालमार्फत नुवाकोटका कुन-कुन ठाउँमा तत्काल राहतको बढी आवश्यकता छ भन्ने जानकारी दिनसमेत आग्रह गरेका छन्। प्राप्त जानकारीका आधारमा सम्भव भएसम्म धेरै भन्दा धेरै प्रभावित क्षेत्रमा पुग्ने उनको प्रयास रहनेछ।
‘रोयल किड्स’ (Royal Kids) को सहकार्यमा राहत लिएर निस्किएका थापाले सङ्कटको यो घडीमा दुःखमा परेका नेपालीलाई एक्लो नछोडी सबै मिलेर पुनः उठ्न आह्वानसमेत गरेका छन्।




प्रतिक्रिया दिनुहोस्