धनगढी: विद्युतीय रिक्सा चालक मजदुर संघ धनगढी–कैलालीले ई–रिक्सा सञ्चालनमा देखिएका समस्या समाधान गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत प्रमुख जिल्ला अधिकारीलाई ६ बुँदे ज्ञापनपत्र बुझाएको छ।
संघले धनगढी उपमहानगरपालिकामा २०७१ सालदेखि विद्युतीय रिक्सा सञ्चालन हुँदै आए पनि चालकहरूले भोग्दै आएका समस्या समाधान हुन नसकेको जनाएको छ। यसअघि प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय, ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र धनगढी उपमहानगरपालिकासहितका निकायमा पटक–पटक ध्यानाकर्षण गराउँदा पनि ठोस पहल नभएको संघको भनाइ छ।
संघका अनुसार धनगढी क्षेत्रमा पछिल्लो समय विद्युतीय रिक्सा र टेम्पोको संख्या अनियन्त्रित रूपमा बढ्दै गएको छ। स्थानीय तहको सिफारिसमा मात्रै दर्ता हुनुपर्ने व्यवस्था भए पनि अन्य पालिकामा दर्ता भएका सवारी धनगढीमा सञ्चालन हुँदा स्थानीय चालकहरूको आम्दानी प्रभावित भएको र ट्राफिक व्यवस्थापनमा समेत समस्या थपिएको संघले जनाएको छ।
ज्ञापनपत्रमार्फत संघले यातायातसम्बन्धी कानुन प्रभावकारी रूपमा लागू गर्न, सार्वजनिक सवारीको नियमित सुरक्षा परीक्षण गर्न, चालकलाई परिचयपत्र र तोकिएको पोसाक अनिवार्य गर्न, प्रत्येक विद्युतीय रिक्सामा भाडादर सूची राख्न तथा नियमित अनुगमनका लागि संयुक्त टोली गठन गर्न माग गरेको छ।
संघले आफ्ना माग सम्बोधन नभए धनगढी क्षेत्रमा सञ्चालन हुने विद्युतीय रिक्सा चालक मजदुरहरू चरणबद्ध आन्दोलनमा जाने चेतावनीसमेत दिएको छ।




प्रतिक्रिया दिनुहोस्