सुदूरपश्चिममा करोडौँको लागतमा बनेको क्याम्पस भवन दुई वर्षमै जिर्ण: छतमा प्लास्टिक, पर्खालमा सिमेन्ट अभाव

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारको करोडौँ लगानीमा निर्माण भएर हस्तान्तरण भएको दुई वर्ष नबित्दै कैलाली बहुमुखी क्याम्पसको विज्ञान तथा सूचना प्रविधि भवनमा गम्भीर लापरबाही पाइएको छ। सामाजिक विकास मन्त्रालयको करिब ४ करोड ५१ लाख रुपैयाँ लागतमा बनेको उक्त भवनको गुणस्तरमा प्रश्न उठ्दै अहिले छत चुहिन थालेको छ।

छत चुहिन थालेपछि मर्मतका क्रममा सतह उप्काउँदा भित्र प्लास्टिकका टुक्रा भेटिएका छन् भने पर्खालको प्लास्टरमा आवश्यक मात्रामा सिमेन्ट प्रयोग नगरिएका कारण चर्किने समस्या देखिएको छ। भवन निर्माणको जिम्मा रोयल पवन जेभीले लिएको थियो भने २०८१ जेठ १६ गते तत्कालीन मुख्यमन्त्री तथा सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारी र मन्त्रालयका तत्कालीन सचिव गणेशबहादुर सिंहले क्याम्पसलाई भवन हस्तान्तरण गरेका थिए।

लापरबाहीप्रति सरकार र ठेकेदार बेखबर

सामान्य वर्षामै छतबाट पानी चुहिनुका साथै झ्यालहरूबाट समेत पानी पस्न थालेपछि प्रयोगशालामा रहेका लाखौँ रुपैयाँका महँगा उपकरणहरू जोखिममा परेका छन्। वारेन्टी अवधिभित्रै हुनुपर्ने मर्मतका लागि निर्माण कम्पनी र अनुगमन गर्ने सामाजिक विकास मन्त्रालयले बेवास्ता गरेपछि क्याम्पस प्रशासनले आफ्नै आन्तरिक स्रोतबाट छतमा वाटरप्रुफिङ गर्न बाध्य भएको छ।

क्याम्पस प्रमुख डा. लोकबहादुर विष्टले समस्या समाधानका लागि मन्त्रालय र निर्माण व्यवसायीलाई पटक–पटक आग्रह गरिए पनि कुनै सुनुवाइ नभएको गुनासो गरेका छन्। उनका अनुसार झ्यालहरूमा मापदण्डअनुसारको सिलिकन समेत प्रयोग गरिएको छैन।

सार्वजनिक धनको चरम दुरुपयोग र राज्यको लाचारीका कारण वारेन्टी अवधिमै क्याम्पसले थप आर्थिक भार बोक्नुपरेको छ। प्राविधिक कमजोरी लुकाउन निर्माणका क्रममा प्लास्टिक मिसाइएको र सरकारी निकायको मौनताले सार्वजनिक निर्माणको गुणस्तरमाथि नै गम्भीर प्रश्न उब्जाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार