बाजुराको अर्ग्यानिक स्याउ बजारमा आउँदै, बगैँचामा पर्यटक र ग्राहकको चहलपहल बढ्यो

बाजुरा: बाजुरामा उत्पादन हुने अर्ग्यानिक स्याउ बजारमा आउन तयार भएसँगै किसानका स्याउ बगैँचामा चहलपहल बढ्न थालेको छ। केही जातका स्याउ पाकिसकेका छन् भने अधिकांश जात पाक्ने क्रममा रहेकाले स्थानीय उपभोक्ता र आन्तरिक पर्यटकहरू बगैँचामै पुगेर ताजा स्याउको स्वाद लिन, खरिद गर्न तथा फोटो–भिडियो खिच्न व्यस्त देखिएका छन्।

जिल्लाको बुढिनन्दा नगरपालिका–स्थित पाण्डुसैन, स्वामिकार्तिक खापर गाउँपालिकाका जुकोट र साप्पाटा तथा जगन्नाथ गाउँपालिकाका लेकाली क्षेत्रका स्याउ बगैँचाहरू अहिले आकर्षणको केन्द्र बनेका छन्। हरियाली बगैँचामा राताम्मे हुँदै गएका स्याउले स्थानीयसँगै बाहिरबाट आउने पर्यटकलाई पनि लोभ्याइरहेका छन्।

कृषि ज्ञान केन्द्र बाजुराका अनुसार जिल्लाका उच्च पहाडी क्षेत्रमा उत्पादन हुने केही जातका स्याउ पूर्ण रूपमा पाकिसकेका छन् भने अधिकांश जात भदौको सुरुआतसम्म बजारमा पठाउन योग्य हुनेछन्। अनुकूल मौसमका कारण यस वर्ष स्याउ उत्पादन पनि उत्साहजनक हुने अपेक्षा गरिएको केन्द्रले जनाएको छ।

बुढिनन्दा नगरपालिका–९ पाण्डुसैनस्थित सहारा स्याउ गार्डेनका सञ्चालक पुरबहादुर रावतका अनुसार पछिल्ला दिनमा ग्राहकहरू बगैँचामै पुगेर स्याउ खरिद गर्ने र ताजा स्याउको स्वाद लिन आउने क्रम उल्लेखनीय रूपमा बढेको छ। सामाजिक सञ्जालका लागि फोटो तथा भिडियो खिच्न आउने आन्तरिक पर्यटकको संख्या पनि बढ्दै गएको उनले बताए।

उच्च हिमाली क्षेत्रमा न्यून रासायनिक विषादी प्रयोग तथा प्राकृतिक वातावरणमा उत्पादन हुने भएकाले बाजुराको स्याउ स्वादिलो, गुणस्तरीय र अर्ग्यानिक मानिन्छ। यही कारणले वर्षेनी बाजुराको स्याउ उपभोक्ताको पहिलो रोजाइमा पर्ने गरेको किसानहरूको भनाइ छ।

कृषि ज्ञान केन्द्रका अनुसार बाजुरामा करिब १७० हेक्टर क्षेत्रफलमा स्याउ खेती हुँदै आएको छ। जिल्लाबाट वार्षिक करिब १,०२० मेट्रिकटन स्याउ उत्पादन हुने गरेको छ। उत्पादन वृद्धि भएसँगै स्याउ खेती किसानको आम्दानीको महत्वपूर्ण स्रोतका रूपमा स्थापित हुँदै गएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार