बैतडी — बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी मेलालाई लक्षित गर्दै एक स्थानीय युवाले भक्तजनको सहजताका लागि निःशुल्क यातायात सेवा सञ्चालन गरेका छन्।
दशरथचन्द नगरपालिका–४ भट्टीगाउँका युवा एसपी भट्टले साउन ७ गते एक दिनका लागि निःशुल्क बस र हाइस सञ्चालन गरेका हुन्। उनले सु.प.प्र ०१००१ ख ३८७९ नम्बरको बस र सु.प.प्र ०२००१ ज ५३४ नम्बरको हाइसमार्फत मेलामा जाने–आउने यात्रुहरूलाई सेवा दिएका छन्।
भट्टले सतबाँझ, देहिमाण्डौं, जोशीबुङ्गा, गोठालापानी हुँदै त्रिपुरासुन्दरी तथा झुलाघाँटबाट त्रिपुरासुन्दरीसम्म यातायात सेवा उपलब्ध गराएका थिए। साथै त्रिपुरासुन्दरीबाट फर्कने भक्तजनका लागि पनि गोठालापानी, देहिमाण्डौं हुँदै सतबाँझसम्म निःशुल्क यातायातको व्यवस्था गरिएको उनले बताए।
समाजसेवामा सक्रिय ३० वर्षीय भट्टले मेलामा सहभागी हुने भक्तजनलाई आवतजावतमा सहज होस् भन्ने उद्देश्यले व्यक्तिगत पहलमा निःशुल्क बस र हाइस सञ्चालन गरेको बताए। धार्मिक मेलामा आउने नागरिकलाई सुविधा दिन आफूले यस्तो प्रयास गरेको उनको भनाइ छ।




प्रतिक्रिया दिनुहोस्