काठमाडौं। नेपालले अन्तरदेशीय विद्युत् व्यापारमा पहिलो पटक ऐतिहासिक सफलता हासिल गर्दै ऊर्जा क्षेत्रमा नयाँ कीर्तिमान कायम गरेको छ।
नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को तथ्यांकअनुसार भारत र बंगलादेशसँगको विद्युत् व्यापारबाट नेपालले १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ खुद व्यापार बचत (नेट ट्रेड सरप्लस) गरेको छ। यो नाफा अघिल्लो आर्थिक वर्ष २०८१/८२ को चार अर्ब ५३ करोड ५७ लाख रुपैयाँको तुलनामा ३१३ प्रतिशतले बढी हो।
समीक्षा वर्ष २०८२/८३ मा नेपालले भारत र बंगलादेशतर्फ कुल तीन अर्ब ८७ करोड ७४ लाख ९२ हजार युनिट विद्युत् निर्यात गरी २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ।
यो अघिल्लो वर्षको १७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ आम्दानीको तुलनामा ६७.९६ प्रतिशतको वृद्धि हो। प्राधिकरणका अनुसार भारतीय ऊर्जा विनिमय बजार तथा बंगलादेशसँगको त्रिपक्षीय व्यापारमार्फत औसत ७ रुपैयाँ ५६ पैसा प्रति युनिटका दरले विद्युत् बिक्री गरिएको थियो।
निर्यातमा उल्लेख्य वृद्धि हुनुका साथै नेपालले बाह्य स्रोतबाट हुने विद्युत् आयातमा पनि ठूलो कटौती गर्न सफल भएको छ। आर्थिक वर्ष २०८२/८३ मा एक अर्ब १४ करोड ९८ लाख युनिट विद्युत् आयात भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३१.५७ प्रतिशतले कम हो।
आयात घटेसँगै यसमा हुने खर्च पनि १८.२९ प्रतिशतले घटेर १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँमा सीमित भएको छ, जबकि अघिल्लो वर्ष आयातका लागि १२ अर्ब ९२ करोड ३० लाख रुपैयाँ बाहिरिएको थियो।
निर्यात आम्दानीमा भएको तीव्र वृद्धि र आयात खर्चमा आएको कमीले विद्युत् व्यापारलाई नेपालका लागि उच्च प्रतिफल दिने क्षेत्रका रूपमा स्थापित गरेको छ।
स्वदेशी जलविद्युत् उत्पादनमा भएको तीव्र वृद्धि, सीमापार प्रसारण पूर्वाधारको विस्तार, भारतको खुला बजारमा सहज पहुँच र बंगलादेशसँगको त्रिपक्षीय व्यापार सुरुवातका साथै कुशल माग-आपूर्ति व्यवस्थापनका कारण नै यो फड्को सम्भव भएको ऊर्जा क्षेत्रका जानकारहरू बताउँछन्।
वर्षायाममा बढी हुने विद्युत्लाई अन्तर्राष्ट्रिय बजारमा बेच्न सफल भएसँगै यो क्षेत्र आन्तरिक आपूर्तिमा मात्र सीमित नभई वैदेशिक मुद्रा आर्जन गर्ने बलियो माध्यम बनेको छ।
आगामी दिनहरूमा नयाँ आयोजनाहरू सञ्चालनमा आउने र अन्तरदेशीय प्रसारण लाइनको थप विस्तार हुने भएकाले नेपालको विद्युत् निर्यात र व्यापार बचत अझै बढ्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया दिनुहोस्