धनगढी — कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा शनिबार वृहत् सरसफाइ अभियान सञ्चालन गरिएको छ। चिकित्सा शिक्षाको अध्यापन सुरु गर्ने तयारीलाई लक्षित गर्दै विश्वविद्यालय परिसरलाई स्वच्छ र व्यवस्थित बनाउने उद्देश्यका साथ अभियान आयोजना गरिएको हो।
आयोजकका अनुसार बिहान ८:३० बजेदेखि १० बजेसम्म चलेको अभियानमा करिब चार हजार जनाको सहभागिता रहेको थियो। विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. सुनिल कुमार जोशीको नेतृत्वमा सम्पन्न कार्यक्रममा रजिस्ट्रार डा. भीम चन्द, प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्द, विश्वविद्यालयका कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी, समाजसेवी, बुद्धिजीवी तथा स्थानीयवासी सहभागी भएका थिए।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनीअन्तर्गत सशस्त्र प्रहरी नायब उपरीक्षक दुर्गाप्रसाद भट्टको नेतृत्वमा खटिएको टोलीले पनि अभियानमा सक्रिय रूपमा सहभागिता जनाएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति प्रा. डा. जोशीले चिकित्सा शिक्षाको पठनपाठन सुरु हुनुअघि विश्वविद्यालय परिसरलाई स्वच्छ, अनुशासित र अध्ययनका लागि उपयुक्त वातावरणमा रूपान्तरण गर्न सरसफाइ अभियान सञ्चालन गरिएको बताए। उनले सुदूरपश्चिमको स्वास्थ्य तथा उच्च शिक्षाको विकासमा विश्वविद्यालयले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्दै गुणस्तरीय र सेवाग्राहीमैत्री चिकित्सा शिक्षा विस्तार गर्ने प्रतिबद्धता दोहोर्याए।
उनले विश्वविद्यालयजस्तो राष्ट्रिय महत्वको संस्थाको संरक्षण, प्रवर्द्धन र विकासमा सबै पक्षको साझा सहयोग आवश्यक रहेको पनि उल्लेख गरे।
अभियानका क्रममा विश्वविद्यालय परिसरका विभिन्न स्थानमा रहेका फोहोर संकलन, झारपात सफाइ तथा वातावरण व्यवस्थापनको काम गरिएको थियो। सहभागीहरूले स्वच्छ वातावरण निर्माण र संरक्षणमा सबै नागरिकको समान जिम्मेवारी रहने सन्देश दिएका थिए।
आयोजकको विश्वास छ कि यस्ता अभियानले विश्वविद्यालय परिसरको सौन्दर्य बढाउनुका साथै सरसफाइ र वातावरण संरक्षणप्रति नागरिकमा सकारात्मक चेतना अभिवृद्धि गर्न सहयोग पुग्नेछ।




प्रतिक्रिया दिनुहोस्