काठमाडौँः गोंगबु बसपार्क नजिक रहेको एक होटलमा मृत अवस्थामा फेला परेकी धनगढीकी युवतीको हत्या प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार सोमबार बिहान करिब ११ बजे मित्रनगरस्थित होटल माउण्ट एल्भिसको चौथो तलाको कोठाबाट धनगढी उपमहानगरपालिका–७ स्थायी ठेगाना भएकी अन्दाजी २५–३० वर्षीया निशा सुनार मृत अवस्थामा फेला परेकी थिइन्। प्रारम्भिक अनुसन्धानले उनको हत्या भएको देखिएको प्रहरीले जनाएको छ।
घटनापछि फरार रहेका व्यक्तिहरूको खोजी गर्ने क्रममा बाँके प्रहरीले जुम्लाको चन्दननाथ नगरपालिका–१ घर भई हाल नेपालगञ्जमा बस्दै आएका २० वर्षीय दानबहादुर शाही र दैलेखको डुङ्गेश्वर गाउँपालिका–६ घर भई हाल काठमाडौंको महाराजगञ्जमा बस्दै आएका रमेश बुढालाई नियन्त्रणमा लिएको हो।
अनुसन्धानका क्रममा दानबहादुर शाहीले होटलमा कोठा बुक गरेको खुलेको छ। त्यसपछि रमेश बुढा युवतीलाई उक्त कोठामा लिएर गएको र केही समयपछि दानबहादुर त्यहाँबाट बाहिरिएको प्रहरीको भनाइ छ। प्रहरीको प्रारम्भिक निष्कर्षअनुसार युवतीको हत्या रमेश बुढाले गरेको आशंका गरिएको छ।
दुवैलाई कर्तव्य ज्यान मुद्दामा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्