महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिला अन्ततः सम्पर्कमा आएका छन् । भीमदत्त नगरपालिका–१९, बागफाँटाका महिला नेपाली सेनाको खोजीपछि सम्पर्कमा आएका हुन् ।
उनीहरू आइतबार (साउन ३)देखि सम्पर्कबाहिर थिए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका रणसिंह दल गणका गणपति एवं प्रमुख सेनानी प्रकाश घिमिरेले सम्पर्कबाहिर रहेका महिला परिवारको सम्पर्कमा आइसकेका जानकारी दिए ।
“सबै संयन्त्र परिचालन गरेर निकुञ्जभित्र खोजीकार्य व्यापक पारिएको थियो,” उनले भने, “केही बेरअघि (सोमबार मध्याह्न) परिवारको सम्पर्कमा आएको र सबै सुरक्षित रहेको खबर प्राप्त भयो ।”
आइतबार साँझदेखि नै निकुञ्जभित्र हराइरहेका बेलडाँडी गाउँपालिका–२ का तीन महिलालाई भने गणका सहसेनानी सुमन जिसी नेतृत्वको टोलीले उद्धार गरेको थियो । उनीहरूलाई सोमबार (साउन ४) बिहान सकुशल उद्धार गरी परिवारको जिम्मा लगाइएको छ ।
निकुञ्जमा अवैध च्याउ टिप्न गएका तीन महिला समूह सम्पर्कविहीन हुँदा सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र निकुञ्ज प्रशासन खोजीकार्यमा जुटेका थिए ।




प्रतिक्रिया दिनुहोस्