काठमाडौँ— हिन्दु धर्मावलम्बीका लागि विशेष महत्व बोकेको साउन महिनाको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा श्रद्धालु भक्तजनको उल्लेख्य उपस्थिति देखिएको छ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठका अनुसार बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै प्रवेशद्वार खोलिएको छ। साउने झरीका बीच पनि भक्तजन बिहानैदेखि दर्शन र पूजा–आराधनाका लागि मन्दिर पुगेका छन्।
श्रद्धालुको सहज र सुरक्षित दर्शनका लागि विशेष व्यवस्थापन गरिएको कोषले जनाएको छ। दर्शन व्यवस्थापनमा कोषका कर्मचारीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी, मन्दिर पहरा गण तथा विभिन्न धार्मिक एवं सामाजिक संस्थाका प्रतिनिधिहरू परिचालित छन्।
कोषका अनुसार मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि बेलुका आरती सम्पन्न भएपछि राति ८ बजेसम्म खुला रहनेछन्। विशेष पूजा भने बिहान ८ः३० बजेदेखि मध्याह्न १२ बजेसम्म सञ्चालन हुनेछ।
दर्शनार्थीको चाप व्यवस्थापन गर्न चार वटा छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ। बिहानैदेखि भक्तजनको आगमन भए पनि लाम अत्यधिक नबढेको कोषले जनाएको छ। पशुपति क्षेत्रमा प्राथमिक उपचारसहित आवश्यक सेवा पनि उपलब्ध गराइएको छ।
यसैबीच, गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, मक्खन महादेवलगायत काठमाडौँ उपत्यकाका प्रमुख शिवालयमा पनि श्रद्धालुको भीड लागेको छ। साउनको पहिलो सोमबारका अवसरमा देशभरका शिव मन्दिरमा भगवान् शिवको पूजा, जलाभिषेक र दर्शनका लागि भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ।




प्रतिक्रिया दिनुहोस्