बैतडी: बैतडीको डिलाशैनी गाउँपालिका–२ मा रहेको कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् सेवा अवरुद्ध भएपछि स्वास्थ्यकर्मी टर्चलाइटको सहारामा सुत्केरी सेवा सञ्चालन गर्न बाध्य भएका छन्। लामो समयदेखि विद्युत् नहुँदा रातिको स्वास्थ्य सेवा प्रभावित बनेको छ भने सुरक्षित मातृत्व सेवासमेत जोखिममा परेको स्थानीयको गुनासो छ।
स्थानीयका अनुसार करिब एकदेखि दुई महिनाअघि लघु जलविद्युत्को लाइनमा समस्या आएपछि स्वास्थ्य चौकी अन्धकारमा छ। त्यसयता विद्युत् आपूर्ति पुनः सञ्चालन हुन नसक्दा २४सै घण्टा सेवा दिने स्वास्थ्य चौकीमा विशेषगरी रातिको समयमा उपचार र सुत्केरी सेवा दिन कठिनाइ भइरहेको छ।
राति सुत्केरी गराउनुपर्ने अवस्था आएमा स्वास्थ्यकर्मीले टर्च चार्ज गर्नकै लागि करिब ३० देखि ४० मिनेट पैदल हिँड्नुपर्ने बाध्यता रहेको स्थानीयले बताएका छन्। यस्तो अवस्थाले आकस्मिक स्वास्थ्य सेवाको प्रभावकारितामा समेत असर परेको उनीहरूको भनाइ छ।
कठिन परिस्थितिका बाबजुद स्वास्थ्यकर्मीले सेवा निरन्तर दिइरहेका छन्। तर आधारभूत पूर्वाधार व्यवस्थापनमा सम्बन्धित निकाय र जनप्रतिनिधिले पर्याप्त चासो नदिएको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन्।
स्थानीयले बैतडीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हरिमोहन भण्डारीलगायत सम्बन्धित निकायलाई विद्युत् समस्या तत्काल समाधानका लागि पहल गर्न आग्रह गरेका छन्। उनीहरूका अनुसार विद्युत् मर्मतको जिम्मा भारतीय कम्पनीलाई दिइएको छ र एउटै कम्पनीले तीन जिल्लाको जिम्मेवारी सम्हालिरहेका कारण मर्मत कार्य ढिलाइ भएको छ। त्यसैले संघीय सरकारको प्रभावकारी समन्वय र दबाब आवश्यक रहेको स्थानीयको भनाइ छ।
स्थानीयका अनुसार डिलाशैनी गाउँपालिकाका अन्य वडामा पनि विद्युत् सेवाको पहुँच पर्याप्त छैन। स्वास्थ्य चौकीमा विद्युत् आपूर्ति चाँडै पुनःस्थापना नभए स्वास्थ्य सेवा अझ प्रभावित हुने चेतावनी दिँदै स्थानीयले सम्बन्धित निकायलाई शीघ्र पहल गर्न माग गरेका छन्।




प्रतिक्रिया दिनुहोस्