धनगढी — भारतको पञ्जाब राज्यस्थित लुधियानाबाट चोरी गरिएका बहुमूल्य गरगहना कञ्चनपुर प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार असार २५ गते दोधाराचाँदनी नगरपालिकाको एक स्थानीयको घर नजिक लुकाएर राखिएको अवस्थामा ती सामान फेला पारिएको हो।
प्रहरीले ३७ प्रकारका सुन, चाँदी, हिरा लगायतका बहुमूल्य गरगहना तथा ६ वटा महँगा घडी बरामद गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार चोरीमा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको भए पनि उनीहरू हालसम्म पक्राउ परेका छैनन्।
अनुसन्धानका क्रममा लुधियानाको एक घरबाट गरगहना चोरी भएको खुलेको प्रहरीले जनाएको छ। उक्त घरमा दोधाराचाँदनीकी एक युवती काम गर्दै आएकी थिइन्। प्रहरीका अनुसार युवतीका दुई आफन्तले घरबाट बहुमूल्य गरगहना चोरी गरी नेपाल ल्याएर लुकाएका थिए।
युवतीबाट प्राप्त सूचनासहित घरधनीले दिएको उजुरीका आधारमा प्रहरीले खानतलासी गर्दा चोरी भएका गरगहना बरामद गर्न सफल भएको जनाएको छ।
बरामद गरिएका सबै सामान सम्बन्धित भारतीय नागरिकलाई कानुनी प्रक्रिया पूरा गरी फिर्ता गरिने प्रहरीले जनाएको छ। यसका लागि सम्बन्धित घरधनीलाई कञ्चनपुर बोलाएर औपचारिक रूपमा गरगहना हस्तान्तरण गर्ने तयारी गरिएको छ।




प्रतिक्रिया दिनुहोस्