धनगढी – धनगढी–५ हसनपुरस्थित शान्तिनगर टोलको ११७ मिटर सडक निर्माण लामो समयदेखि अलपत्र परेपछि आक्रोशित स्थानीयले बुधबार पूर्वाधार विकास कार्यालय धनगढीमा तालाबन्दी गरेका छन्।
स्थानीयले कार्यालयको मूल प्रवेशद्वारमा ताला लगाउँदै सडक निर्माणमा भएको ढिलाइप्रति विरोध जनाएका हुन्। तालाबन्दीका बेला कार्यालयभित्र केही कर्मचारी रहे पनि स्थानीयले मुख्य ढोका बन्द गरेका थिए।
स्थानीयका अनुसार प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालयले करिब तीन महिनाअघि सडक निर्माणको ठेक्का लगाए पनि निर्माण कम्पनीले केही दिन काम गरेर निर्माण प्रक्रिया नै रोकिदिएको छ। यसका कारण स्थानीयलाई दैनिक आवतजावतमा समस्या हुँदै आएको उनीहरूको भनाइ छ।
स्थानीय दुर्गा भट्टका अनुसार सडक निर्माणको विषयमा कार्यालय प्रमुख दिपक नेगीसँग पटक–पटक सम्पर्क र छलफलको प्रयास भए पनि कुनै सुनुवाइ नभएको गुनासो छ। उनले फोनमार्फत समस्या राख्न खोज्दा कार्यालय प्रमुखले आफूले सयौँ ठेक्काको जिम्मेवारी सम्हाल्नुपर्ने भन्दै कुराकानी गर्नसमेत रुचि नदेखाएको आरोप लगाइन्।
बिहानदेखि कार्यालय पुगेर छलफलको प्रयास गर्दा पनि प्रमुखले समय नदिएपछि अन्तिम विकल्पका रूपमा तालाबन्दी गरिएको भट्टले बताइन्। उनका अनुसार तालाबन्दी गर्ने चेतावनी दिँदा समेत कार्यालय प्रमुखले बेवास्ता गरेको दाबी छ।
स्थानीयले निर्माण व्यवसायीले अधिकांश निर्माण सामग्रीसमेत उठाएर लगेको र बाँकी सामग्री पनि लैजान खोज्दा आफूहरूले रोक्नुपरेको बताए। निर्माण कम्पनीले अब उक्त सडकमा काम नहुने जानकारी दिएपछि बाध्य भएर कार्यालयमा पुगेर विरोध गर्नुपरेको उनीहरूको भनाइ छ।
विरोधका क्रममा स्थानीयले कार्यालय परिसरमा मदिराका बोतल भेटिएको दाबी गर्दै सरकारी कार्यालयको कार्यशैलीप्रति पनि प्रश्न उठाएका छन्। कार्यालयका कोठामा पङ्खा र एसी सञ्चालनमै रहेको तर कर्मचारी भने पर्याप्त संख्यामा उपस्थित नरहेको भन्दै उनीहरूले सूचना बोर्ड र सुझाव पेटिकासमेत हटाएका थिए।
स्थानीयले विकास निर्माणका काम समयमै सम्पन्न गर्न सम्बन्धित निकायले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने माग गरेका छन्। जनताले तिरेको करको सदुपयोग हुनुपर्ने भन्दै उनीहरूले प्रदेश सरकार र पूर्वाधार विकास कार्यालयसँग तत्काल सडक निर्माण कार्य अघि बढाउन आग्रह गरेका छन्।




प्रतिक्रिया दिनुहोस्