कञ्चनपुर: चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा कञ्चनपुरमा मात्रै २८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये सबैभन्दा धेरै सङ्क्रमित कञ्चनपुरमा भेटिएपछि स्वास्थ्य निकायले नागरिकलाई सतर्क रहन र डेङ्गु नियन्त्रणका उपाय प्रभावकारी रूपमा अपनाउन आग्रह गरेको छ।
स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक तथा कीटजन्य रोग फोकल पर्सन सिद्धराज भट्टका अनुसार जनवरीदेखि जुनसम्म क्रमशः पाँच, छ, पाँच, सात, दुई र तीन जनामा डेङ्गु पुष्टि भएको हो। यही अवधिमा सुदूरपश्चिम प्रदेशभर ७० जनामा सङ्क्रमण देखिएको छ। प्रदेशमा कञ्चनपुरपछि अछाममा १३, कैलालीमा १०, डडेल्धुरामा आठ, बझाङमा छ, डोटीमा तीन तथा दार्चुला र बैतडीमा एक–एक जना सङ्क्रमित भेटिएका छन्।
भट्टका अनुसार डेङ्गु एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस प्रजातिका सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यी लामखुट्टेले सफा र जमेको पानीमा फुल पार्ने तथा दिउँसो बढी सक्रिय रहने भएकाले घर, विद्यालय, कार्यालय र सार्वजनिक स्थान वरपर पानी जम्न नदिन विशेष ध्यान दिनुपर्ने उनले बताए।
उनका अनुसार डेङ्गुका चार प्रकारका विषाणु हुने भएकाले एकपटक सङ्क्रमण भइसकेपछि पनि अर्को प्रकारको विषाणुले पुनः सङ्क्रमण गराउन सक्छ। दोस्रोपटक हुने सङ्क्रमण झन् जटिल र जोखिमपूर्ण हुन सक्ने भएकाले थप सावधानी आवश्यक रहेको उनको भनाइ छ।
डेङ्गुको सङ्क्रमणकाल सामान्यतया तीनदेखि १० दिनसम्म रहने गर्दछ। सङ्क्रमण भएपछि उच्च ज्वरो आउने, टाउको र आँखाको गेडी दुख्ने, पेट तथा जोर्नी दुख्ने, वाकवाकी लाग्ने र शरीरमा राता बिमिरा देखिने लक्षण देखिन सक्छन्। गम्भीर अवस्थामा आन्तरिक वा बाह्य रक्तस्रावसमेत हुन सक्ने स्वास्थ्य कार्यालयले जनाएको छ।
शुक्लाफाँटा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले समयमै परीक्षण र उपचार गर्न सके डेङ्गुबाट हुने मृत्युदर दुई प्रतिशतभन्दा कममा सीमित गर्न सकिने बताए। उनका अनुसार शिशु, गर्भवती, ज्येष्ठ नागरिक, मोटोपन भएका, दीर्घरोगी तथा अत्यधिक रक्तस्राव भएका बिरामी उच्च जोखिममा पर्ने समूह हुन्।
ज्वरो कम गर्न सिटामोल प्रयोग गर्न सकिने भए पनि चिकित्सकको सल्लाहबिना आइबुप्रोफेन र एस्पिरिनजस्ता औषधि सेवन नगर्न उनले सुझाव दिएका छन्। एउटा पोथी एडिस लामखुट्टेले आफ्नो करिब ३० दिनको आयुमा पाँच सयदेखि एक हजारसम्म अण्डा पार्न सक्ने र सङ्क्रमित लामखुट्टेको अण्डाबाट जन्मिने नयाँ लामखुट्टेमा समेत डेङ्गुको विषाणु रहन सक्ने उनले बताए।
स्वास्थ्यकर्मी कृष्णराज जोशीका अनुसार डेङ्गु सार्ने लामखुट्टेका अण्डा पानी नहुँदा पनि महिनौँसम्म जीवित रहन सक्छन्। त्यसैले पानी जम्न नदिनु नै डेङ्गु नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय हो। जलवायु परिवर्तन, तीव्र सहरीकरण, कमजोर रोग निगरानी, समयमै परीक्षणको अभाव, बसाइँसराइ र समुदायको न्यून सहभागितालाई डेङ्गु नियन्त्रणका प्रमुख चुनौतीका रूपमा लिइएको छ।
यसैबीच, कञ्चनपुरका नौवटै स्थानीय तहमा डेङ्गु सार्ने लामखुट्टेको लार्भा खोजी तथा नष्ट गर्ने ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान सञ्चालनका लागि आवश्यक बजेट व्यवस्थापन भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ। अभियानअन्तर्गत सरसफाइ, जनचेतना अभिवृद्धि, समुदाय परिचालन तथा छलफल कार्यक्रम सञ्चालन गरिनेछ।
स्वास्थ्यकर्मीले गमला, फूलदानी, ड्रम, टायर र अन्य भाँडामा पानी जम्न नदिन, खानेपानीका ट्याङ्की ढाकेर राख्न, झ्यालढोकामा जाली प्रयोग गर्न तथा दिउँसो सुत्दा पनि झुल प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।




प्रतिक्रिया दिनुहोस्