फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल खेलमा इङ्गल्यान्डविरुद्ध पराजित भएपछि नर्वेका स्ट्राइकर अलेक्जेन्डर सोर्लोथ सामाजिक सञ्जालमा तीव्र साइबर दुर्व्यवहारको सिकार भएका छन्। खेलको एक महत्त्वपूर्ण क्षणमा आफ्ना साथी खेलाडी तथा स्टार स्ट्राइकर अर्लिङ हालान्ड लाई पास नदिई आफैं गोल गर्ने प्रयास गरेको भन्दै आक्रोशित फुटबल समर्थकहरूले सोर्लोथमाथि खनिएका हुन्। नर्वे उक्त खेलमा २-१ ले पराजित हुँदै विश्वकपबाट बाहिरिएपछि सामाजिक सञ्जालमा सोर्लोथविरुद्धको आक्रोश झनै बढेको हो।
दुर्व्यवहार यति गम्भीर मोडमा पुगेको छ कि सोर्लोथ र उनकी पार्टनर लेना सेल्नेसलाई सामाजिक सञ्जालमा ज्यान मा’र्ने धम्की समेत दिइएको छ। सेल्नेसले आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत केही स्क्रिनसटहरू सार्वजनिक गरेकी छिन्, जसमा सोर्लोथलाई आ’त्मह’त्या गर्न उक्साउने र परिवारलाई नै हानि पुर्याउने खालका डरलाग्दा सन्देशहरू पठाइएका छन्। खेलमा पराजित हुनुको सम्पूर्ण दोष सोर्लोथमाथि थुपार्दै उनका पोस्टहरूमा हजारौँ घृणास्पद टिप्पणीहरू गरिएका छन्।
यस अमानवीय घटनाको खेल जगतमा चौतर्फी आलोचना भइरहेको छ। नर्वेका मुख्य प्रशिक्षक स्टाले सोल्बाकेन ले यस साइबर दुर्व्यवहारको कडा शब्दमा निन्दा गर्दै यसलाई “पूर्ण रूपमा अर्थहीन र दुखद” भनेका छन्। अर्कोतर्फ, सोर्लोथ आफैंले भने मैदानको उक्त स्थितिमा इङ्गल्यान्डका डिफेन्डर जन स्टोनले पास दिने ठाउँ बन्द गरिदिएकाले आफूले प्रहार गर्ने निर्णय लिएको भन्दै आफ्नो बचाउ गरेका छन्।




प्रतिक्रिया दिनुहोस्