कैलाली । धनगढी र आसपासका क्षेत्रमा अत्यधिक गर्मी बढ्न थालेपछि अहिले यहाँको फनपार्कमा घुइँचो लाग्न थालेको छ।
धनगढी उपमहानगरपालिका-२ भन्सार रोडमा रहेको फनपार्क पुनः सञ्चालनमा आएसँगै गर्मी छल्नेहरूको प्रमुख गन्तव्य बन्न थालेको हो।
२०७५ साल वैशाख १४ गते करिब १२ करोड रुपैयाँको लगानीमा सुरु गरिएको फनपार्क कोरोना संक्रमणपछि बन्द अवस्थामा रहेको थियो। करिब अढाई बिघा क्षेत्रफलमा फैलिएको यो पार्क नयाँ व्यवस्थापन र परिष्कृत सुविधासहित पुनः सञ्चालनमा आएको हो।
सीमावर्ती क्षेत्रमा अवस्थित भएकाले यहाँ नेपाली मात्र होइन, भारतीयहरू पनि गर्मी छल्न आइरहेका सञ्चालक श्याम विष्टले बताए। उनका अनुसार नेपाल र भारतका धेरै पर्यटकहरू यहाँ आउने गरेका छन्। केही वर्षपछि पुनः सञ्चालनमा आएको यो पार्कले सुदूरपश्चिम क्षेत्रमा भारतीय पर्यटक भित्र्याउन पनि भूमिका खेल्ने विश्वास गरिएको छ।

यहाँको वाटर पार्कअन्तर्गत स्विमिङ पुल, वेभ पुल र किड्स पुलमा बालबालिकादेखि वयस्कसम्म रमाइरहेका छन्। त्यस्तै मल्टि–लेन स्लाइड, ट्युब लाइट स्लाइड, पेन्डुलम र ब्रेक डान्सजस्ता रोमाञ्चक खेलहरूले चिसोसँगै मनोरञ्जन पनि थपिरहेका छन्।

अर्का सञ्चालक चेतराज जोशीका अनुसार गुणस्तरीय सेवा र सुरक्षामा विशेष ध्यान दिएर फनपार्क पुनः सञ्चालनमा ल्याइएको हो र आगन्तुकहरूको संख्या दिनप्रतिदिन बढिरहेको छ। ‘हामीले धनगढीलाई मनोरञ्जनको नयाँ केन्द्र बनाउने लक्ष्य राखेका छौँ। नयाँ वर्षसँगै पर्यटकको आगमन उत्साहजनक हुने हाम्रो विश्वास छ,’ उनले भने।

यहाँ प्रवेश शुल्क वयस्कका लागि ५०० रुपैयाँ र बालबालिकाका लागि ३०० रुपैयाँ निर्धारण गरिएको छ।




प्रतिक्रिया दिनुहोस्