दीपक भट्टले गरेको एउटा मुख्य ‘घोटाला’

सम्पत्ति शुद्धीकरण अनुसन्धान सिलसिलामा हिरासतमा रहेका विवादित व्यवसायी दीपक भट्टले गरेको एउटा मुख्य आर्थिक घोटालाको विवरण धितोपत्र बोर्डले सार्वजनिक गरेको छ।

भट्ट र उनीसँग सम्बद्ध व्यवसायीहरूले मिलेमतोमा सेयर किन्ने र कृत्रिम रूपले मूल्य बढाउने गरेको बोर्डको अध्ययनले देखाएको छ। भट्टमाथि लागेको आर्थिक अपचलनका थुप्रै आरोपमध्ये यो एक हो।

धितोपत्र बोर्डले अध्ययन गरेर सार्वजनिक गरेको प्रतिवेदन अनुसार भट्टले ३ अर्ब ८० करोड रूपैयाँ बराबरको नेपाल रि-इन्स्योरेन्सको सेयर र नबिल बैंक, एनएमबी बैंक, नेपाल एसबिआई बैंक र सिद्धार्थ बैंकको ऋणपत्र किनेको देखिएको छ।

उनले यस्तो सेयर र ऋणपत्र किनबेच गर्न आफ्नो लगानी रहेको हिमालयन रि-इन्स्योरेन्स कम्पनी र हिमालयन रिको लगानी रहेका सम्बद्ध कम्पनीहरू प्रयोग गरेको पाइएको छ।

हिमालयन रि-इन्स्योरेन्सको लगानी रहेका गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सबाट समेत कारोबार गरेको धितोपत्र बोर्डको प्रतिवेदनमा उल्लेख छ।

यति मात्र होइन, भट्टकै लगानी रहेको हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडको एक सामूहिक लगानी कोषको रकम समेत सेयर किनबेचमा प्रयोग भएको पाइएको बोर्डको अनुसन्धानमा देखिएको छ।

प्रतिवेदन अनुसार यी सबैजसो कम्पनीबाट सेयर कारोबार गर्न एउटै ‘आइपी एड्रेस’ प्रयोग भएको छ।

यसरी एकआपसमा कारोबार गर्दै नेपाल रि-इन्स्योरेन्सको सेयर, नबिल बैंक, एनएमबी बैंक, नेपाल एसबिआई बैंक र सिद्धार्थ बैंकको ऋणपत्रको मूल्य बढाउने गरिएको पाइएको छ।

यस क्रममा भट्टमार्फत् भएको यस्तो कारोबारको मूल्य बढाउन सुलभ अग्रवालकी श्रीमति सुभी अग्रवाल, व्यवसायी राजबहादुर शाह, ऋषिराज मोर, रोहित गुप्ताबाट समेत सहयोग पुगेको धितोपत्र बोर्डको अध्ययनमा भेटिएको छ। व्यवसायी शेखर गोल्छाले भने कारोबारको रकम भुक्तानीमा सहयोग गरेको अध्ययनले उल्लेख गरेको छ।

प्रतिवेदन अनुसार धेरैजसो कारोबार उधारोमा हुने गरेको थियो। भट्ट र उनीसँग सम्बद्ध व्यवसायीहरूबाट ब्रोकर कम्पनीले ४ अर्ब ७८ करोड लिन र उनीहरूले ४ अर्ब ४७ करोड ब्रोकरलाई तिर्न बाँकी रहेको प्रतिवेदनमा छ।

सुलभले गरे पदमै रहँदा हिमालयन लाइफको कारोबार

धितोपत्र बोर्डकै अर्को एक अध्ययनले हिमालयन लाइफ इन्स्योरेन्सको कारोबार गर्न व्यवसायी सुलभ अग्रवालले आफ्नै छोरासँग फर्जी अंशबन्डा गरेको पनि देखाएको छ।

सुलभ अग्रवाल २०८० माघदेखि २०८२ चैत २० सम्म हिमालयन लाइफ इन्स्योरेन्सका अध्यक्ष थिए। पदमै रहेको अवधिमा सञ्चालकहरूले सेयर बिक्री वा हस्तान्तरण गर्न पाउँदैनन्। सुलभले भने अशंबन्डाका नाममा भर्खरै बालिग भएका छोरा कृषव अग्रवालका नाममा सेयर हस्तान्तरण गरेको धितोपत्र बोर्डको अध्ययनले फेला पारेको छ।

सुलभले २०८२ जेठ २० गते यो सेयर नामसारी गरेको र त्यसै वर्ष साउनमा बिक्री समेत गरिएको पाइएको थियो।

यो सेयर किनबेचका लागि पनि एउटै आइपी एड्रेस भएको इन्टरनेट सेवा प्रयोग गरिएको प्रतिवेदनमा उल्लेख छ। यसरी छोरा कृषवका नामबाट कारोबार गरेर प्राप्त गरेकोमध्ये ८० प्रतिशत रकम बुबा सुलभकै खातामा जम्मा भएको अध्ययनमा उल्लेख छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार