काठमाडौं । इरानले अमेरिकाद्वारा तेस्रो मुलुकमार्फत पठाइएको ४८ घण्टे युद्धविराम प्रस्तावलाई अस्वीकार गरेको छ ।
इरानी अर्ध–सरकारी समाचार संस्था फार्स न्युजका अनुसार बुधबार पठाइएको उक्त प्रस्तावलाई इरानले इन्कार गरेको हो ।
यसैबीच, शुक्रबार इरानले दुईवटा अमेरिकी युद्धक विमान खसालेको दाबी गरेपछि द्वन्द्वले नयाँ मोड लिएको छ । इरानी आकाशभित्र एफ–१५ई स्ट्राइक इगल फाइटर जेट खसालिएको बताइएको छ । यसमा रहेका दुई सदस्यमध्ये एकको सफल उद्धार गरिएको छ भने अर्का सदस्य अझै बेपत्ता छन् ।
ए–१० थन्डरबोल्ट २ अट्याक एयरक्राफ्ट पर्सियन खाडी क्षेत्रमा खसेको बताइएको छ । अमेरिकी अधिकारीहरूले यो प्राविधिक गडबडीका कारण दुर्घटनाग्रस्त भएको हो वा इरानले खसालेको हो भन्नेबारे अनुसन्धान भइरहेको जनाएका छन् ।
बेपत्ता पाइलटको खोजीका लागि पठाइएका ब्ल्याक हक हेलिकोप्टरमाथि पनि इरानी सेनाले गोलाबारी गरेको दाबी गरिएको छ, जसका कारण ती हेलिकोप्टरहरूमा क्षति पुगेको बताइएको छ ।
यो युद्ध सुरु भएको करिब पाँच हप्ता भइसकेको छ । यो अवधिमा पहिलोपटक अमेरिकी विमानहरू खसालिएको दाबी गरिएको हो । यसले इरानको हवाई रक्षा प्रणाली अझै पनि प्रभावकारी रहेको संकेत गर्ने विश्लेषण गरिएको छ ।
विमानहरू खसालिएको दाबीका बाबजुद अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसले इरानसँगको वार्तामा कुनै असर नपर्ने बताएका छन् । तर, अर्कोतर्फ उनले अमेरिकी रक्षा बजेटमा ऐतिहासिक वृद्धि गर्न माग गरेका छन् ।
ट्रम्पले अमेरिकी संसद्सँग रक्षा बजेट १.५ ट्रिलियन डलरसम्म पुर्याउन प्रस्ताव गरेका छन्, जबकि हाल अमेरिका को रक्षा बजेट करिब ८३९ बिलियन डलर रहेको छ ।
यस प्रस्तावित वृद्धिले अमेरिका आफ्नो सैन्य शक्ति अझ आक्रामक रूपमा विस्तार गर्न चाहिरहेको संकेत दिएको छ । एनडीटीभी




प्रतिक्रिया दिनुहोस्