धनगढी । कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय लोक भजन गायन प्रतियोगिता हुने भएको छ । चौतारी कला समाज धनगढीको आयोजनामा आगामी चैत ४ गते धनगढीको शिवपुरी धाममा प्रतियोगिता हुन लागेको हो।
लोप हुँदै गएको धर्म, संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको चौतारी कला समाजका अध्यक्ष हेमन्ता भट्टराइले जानकारी दिइन्। प्रतियोगितामा मौलिक भजनलाई प्राथमिकता दिइने उनले बताइन्। एउटा भजन गायन समूहमा पाँचदेखि १० जनासम्म हुनुपर्ने र भजन पाँचदेखि १० मिनेटसम्मको हुनुपर्ने आयोजकले जनाएको छ।
समाजले धनगढीमा बुधबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी सुरु गरिएको जानकारी दिएको छ । चैत १ गतेसम्म टीम दर्ता खुला गरिएको अध्यक्ष भट्टराइले जानकारी दिइन् । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने समूहलाई २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।
त्यस्तै द्धितीयलाई १५ हजार, तृतीयलाई १० हजार र सान्त्वना स्थान हासिल गर्ने समूहलाई पाँच हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको भट्टराइले जानकारी दिइन् । नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा सहकार्यमा प्रतियोगिता गर्न लागिएको हो। पुनर्वास नगरपालिका तथा नवजीवन सहकारी संस्था लिमिटेड धनगढी प्रतियोगिताको प्रवद्र्धकका रुपमा रहेका आयोजकले जनाएको छ।

प्रतिक्रिया दनुहोस्