धनगढी : धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा फेण्ड्स क्लब डडेल्धुरालाई स्तब्ध पार्दै सिबाईसी अत्तरियाले अर्जुन ट्रफीको उपाधि जितेको छ । सोमबार धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ३४ रनले डडेल्धुरालाई पराजित गर्दै अत्तरियाले उपाधि जितेको हो ।
जितका लागि ११९ रनका मध्यम स्कोर पछ्याउने क्रममा डडेल्धुरा १८ ओभरमा अलआउट हुँदै ८४ रन मात्रै बनाउन सक्यो । ११९ रनको लक्ष्य पछ्याउन क्रममा डडेल्धुराका गजेन्द्र बोहराले सर्वाधिक २४ रन बनाएका थिए । यस्तै कुशल भुर्तेलले २०, अशोक धामीले ११ रन बनाए । अन्य ब्याट्सम्यानले दोहरो अङ्कको रन बनाउन सकेनन् ।
डडेल्धुरालाई लक्ष्यमा पुग्नको लागि रोक्न अत्तरियाका साहब आलम र दीपेश कँडेलले समान ३– ३ विकेट लिएका थिए । त्यस्तै कमल गुप्ता र विवेक यादवले समान २–२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले २० ओभरमा ९ विकेट गुमाउँदै ११८ रन बनाएको थियो । अत्तरियाका लागि रसिद खानले सर्वाधिक ३१ रन बनाएका थिए । त्यस्तै सन्तोष कार्की र शङ्कर रानाले समान २०–२० रन बनाउँदा सन्दीप क्षेत्रीले १२, विवेक यादवले ११, भीम सार्कीले १० रन बनाए ।
डडेल्धुराका लागि अभिषेक गौतमले ४ विकेट लिएका थिए । यस्तै अजय चौहान र कुशल भुर्तेलले पनि एक एक विकेट लिए । अत्तरियाका तीन खेलाडी रन आउट भएका थिए । प्रतियोगितामा विजेता टिमले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् ।
प्रतिक्रिया दनुहोस्