म्याग्दी : नेपाल सरकारले बाह्य पर्यटकका लागि अर्धनिषेधित उपल्लो मुस्ताङका १५ हिमालहरू पर्वतारोहणका लागि खुला गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पुस २२ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी मुस्ताङका १५ हिमचुचुरासहित देशभरका ५७ वटा नयाँ हिमाल आरोहणका लागि खुला गरेको हो ।
मन्त्रालयले प्रकाशित गरेको सूचनाअनुसार उपल्लो मुस्ताङको नेपाल–चीन सीमावर्ती मुस्ताङ हिमशृंखलाअन्तर्गतका लोमन्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका सीमामा पर्ने ज्याङ्लाटिन्पु पिक (६०६२ मि), के क्याप रि पहिलो (६१८७ मि), के क्याप रि दोस्रो (६०११ मि), लोमन्थाङ गाउँपालिकामा पर्ने छुआमा पिक चौथो (६१७९ मि), छुआमा पिक पहिलो (६३६६ मि), छुआमा पिक दोस्रो (६३२५ मि), छुआमा पीक तेस्रो (६२६८ मि), चुङ्गेन चाङ्गमा (६२२९ मि), घ्युन हिमाल दोस्रो (घ्युन हिमाल तेस्रो (६०२७ मि), मनसयल पूर्व (६१८६ मि), मुस्ताङ हिमाल (६१५० मि) आरोहणका लागि नयाँ खुला गरिएका हिमाल हुन् ।
त्यसैगरी लोमन्थाङ गाउँपालिका–१ मा अवस्थित नेपाल–चीन सीमावर्ती दामोदरकुण्ड हिमशृंखलामा पर्ने यारसाङ खाङ (५८९७ मि) लुनाधार खाङ (५८०७ मि) तथा वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पर्ने धौलागिरि हिमशृंखलाअन्तर्गतको मुस्ताङ र डोल्पा जिल्लाको सीमावर्ती होङ्दे पश्चिम (६३३८ मि) पनि नयाँ आरोहण खुला गरिएका हिमाल हुन् ।
‘सरकारले लोमन्थाङ गाउँपालिकाभित्र पर्ने १४ वटा हिमचुली आरोहणका लागि खुला गरेको छ । पर्यटकहरू यी हिमाल आरोहण गर्न आए भने लोमन्थाङको पर्यटन क्षेत्र उत्साही हुनेछ । हामीले के सहयोग गर्नुपर्छ तयार नै छौं,’ लोमन्थाङ गाउँपालिका अध्यक्ष टसी नर्वु गुरुङले भने, ‘हाम्रालागि पर्यटन प्रवर्द्धन, आर्थिक उपार्जन गर्नु एकापट्टि छ, अर्कातिर यहाँको पर्यावरण संरक्षण पनि उत्तिकै चुनौतीपूर्ण छ । संख्यात्मक भन्दा गुणात्मक पर्यटनले पर्यावरण संरक्षणमा योगदान पुग्नेछ ।’
मुस्ताङ हिमशृंखला जोमसोम–लोमन्थाङ–कोरला सडक खण्डमा पर्ने घमी, चराङ, लोमन्थाङ, छोसेर, नेचुङ र कोरला नाकादेखि पश्चिममा अवस्थित छ । कोरला नाकादेखि नजिकै पश्चिमतर्फ देखिने सबैभन्दा अग्लो हिमाल मुस्ताङ हिमाल हो । यसको दक्षिणतर्फका चुचुरा अन्य हिमाल हुन् । दामोदर हिमाल भने यी बस्तीबाट पूर्वतर्फ नेपाल–चीन सीमावर्ती क्षेत्रमा अवस्थित छ । दामोदर हिमाल निलगिरि हिमशृंखलाको सबैभन्दा उत्तरतर्फको हिमाल हो । धौलागिरि हिमशृंखलाको होङ्दे पश्चिम भने जोमसोम तथा कागवेनीबाट पश्चिम डोल्पा जाने बाटोमा अवस्थित छ ।
प्रतिक्रिया दिनुहोस्