धनगढीको विकासमा किन बाधक बन्दैछ नागरिक समाज ? के हो पार्क निर्माणमा ‘अड्को’ थाप्नुको रहस्य ? 

भक्तराज जोशी

धनगढी । धनगढी उपमहानगरपालिका-१ स्थित विरेन्द्र ऐश्वर्य उद्यान (धनगढी पार्क) सुन्दरसँगै व्यवस्थित बन्दैछ । धनगढी उमहानगरपालिकाले ३६ करोडको डिपिआर तयार पारेर पार्क निर्माणको काम सुरुसमेत गरिसकेको छ । 

अझ धनगढी पार्कको निर्माण कार्य २०८३ बैशाख १७ गतेसम्म सक्नेगरी नेशनल पवन जेभीसँग २०८१ असार १७ गते सम्झौतासमेत भइसकेको छ । 

dashain shuvakamana
Discovery School

तर डिपिआर तयार भएर, निर्माण कार्यका लागि सम्झौता भई काम नै सुरु भइसकेको पार्कको निर्माण कार्य रोक्नुपर्ने भन्दै नागरिक समाजको नाममा केही नागरिकहरुको समूह लागि परेको छ । जहाँ नेतृत्वविहीन नागरिक समाजका नाममा ३९ जनाले पार्कभित्र भइरहेको निर्माण कार्य रोक्न ज्ञापन पज्ञसमेत बुझाएका छन् भने धनगढी उपमहानगरपालिकाका पूर्व नगरप्रमुखसमेत रहेका नृपबहादुर वडले त्यसमा आफ्नो ऐक्यबद्धता जनाएका छन् । 

धनगढीलाई व्यवस्थित र नमूना शहर बनाउनुका साथै सयौँलाई रोजगारी दिने उद्धेश्यले पुर्नसंरचना गर्न लागिएको विरेन्द्र ऐश्वर्य उद्यान (धनगढी पार्क)को निर्माण कार्यमा नागरिक समाज बाधक बनेको स्पष्ट देखिन्छ । अब प्रश्न उठ्न सक्छ, नागरिक समाज कसरी विकास बाधक बन्यो ? त्यसका लागि विगतमा फर्किनुपर्छ । हामीले पार्क निर्माणको प्रक्रिया र नागरिक समाजले देखाएको चासोलाई श्रृङ्खलाबद्ध रुपमा केलाउने प्रयास गरेका छौँ । 

श्रृङ्खला १ः 

हुन त धनगढी उमहानगरपालिकाले विरेन्द्र ऐश्वर्य उद्यान (धनगढी पार्क) आफूखुसी बनाउन लागेको होइन । न त नगरपालिकाले पार्कको डिपिआर जबरजस्ती नै बनाएको हो, बरु नगरपालिकाले डिपिआर तयार गर्नुपूर्व डिपिआरका लागि धनगढीबासी, नागरिक समाज, बुद्धिजिबी तथा सरोकारवाला निकायसँग सुझावसमेत मागेको थियो । 

धनगढीका मेयर गोपाल हमालले आफ्नो फेसबुक पेजमा २०८० बैशाख ६ गते (बुधबार) नगरपालिकाले धनगढी पार्क र वडा नम्बर १५ स्थित कनरी पार्कको डिपिआर गर्न परामर्शदाता छनौट सम्बन्धी सूचना सार्वजनिक गरेका छन् । त्यसको भोलिपल्टै अर्थात २०८० बैशाख ७ गते (बिहीबार) पुनः पार्कको डिपिआरसम्बन्धी प्रारम्भीक काम भइरहेको भन्दै आवश्यक सुझाव माग गर्दै फेसबुकमै हमालले सूचना पोष्ट गरेको देखिन्छ । 

तर प्रश्न पार्क निर्माण कार्य रोक्नुपर्छ भन्दै कुर्लिरहेको नागरिक समाज कसरी विकास विरोधी भयो ? भन्ने भन्दा पनि पार्कको डिपिआर गर्नुपूर्व सुझाव माग्दा नागरिक समाज कहाँ थियो भन्ने प्रश्न प्रमुख हो । किनकी त्यसबेला न नागरिक समाजले डिपिआर निर्माण गर्दा कुनै सुझाव दियो न त कुनै विरोध नै गर्यो । तर अहिले डिपिआर भएर, ठेक्का सम्झौता भई काम सुरु हुँदा एक्कासी नागरिक समाजको विरोध किन ? 

श्रृङ्खला २ः 

अर्कोतर्फ विरेन्द्र ऐश्वर्य उद्यान (धनगढी पार्क)को डिपिआर गर्नुपूर्व मात्र होइन, नागरिक समाज डिपिआर तयार हुँदा पनि चुपचाप नै थियो । अर्थात उपमहानगरपालिकाले विरेन्द्र ऐश्वर्य उद्यानको डिपिआर २०८० पुष १७ गते नै सम्पन्न गरेको थियो भने सोही दिन नगरप्रमुख गोपाल हमालले आफ्नो फेसबुक पेजमार्फत पनि पार्कको थ्रि डि भिडियो सार्वजनिक गरेका थिए । 

त्यसबेला पनि नागरिक समाज गुपचुप नै थियो । पार्कको थ्रि डि भिडियो नै सार्वजनिक हुँदा धेरैले नगरपालिकाको उक्त काम स्वागतयोग्य भएको भन्दै प्रशंसा गरेका थिए । 

तर डिपिआर तयार भएको झण्डै १० महिनापछि मात्रै नागरिक समाज तात्नुले पनि नागरिक समाजको नियतमाथि प्रश्न उठाएको छ । यदी पार्कको डिपिआर नै गलत थियो वा पार्क निर्माण गर्ने योजना सही थिएन भने त्यसबेला किन आवाज उठेन उठाइएन ? किन विरोध गरिएन ? अनि निर्माण कार्य सुरु भएपछि नागरिक समाजका नाममा एक्कासी यो अस्वभाविक विरोध किन ? 

श्रृङ्खला ३ः

यता पार्क निर्माणको डिपिआर भएर निर्माणका लागि ठेक्का सम्झौता नै भइसक्दा पनि नागरिक समाज गुमनाम नै थियो । 

धनगढी उपमहानगरपालिकाले धनगढी पार्कको निर्माण कार्य २०८३ बैशाख १७ गतेसम्म सक्नेगरी नेशनल पवन जेभीसँग २०८१ असार १७ गते नै सम्झौता गरेको थियो । त्यसबारे जानकारी पनि नागरिक समाजलाई नभएको होइन । सारा देशलाई थाहा भएको कुरा, धनगढीकै नागरिक समाजलाई थाहा भएन भन्नु अपत्यारिलो नै होला । तर अन्तिम समयमा आएर नागरिक समाजले यसरी विरोध गर्नुचाहिँ शंकास्पद नै देखिन्छ । 

धनगढी-१ स्थित विरेन्द्र ऐश्वर्य उद्यान निर्माण कार्यमा धेरैले उमहानगरपालिकालाई समर्थन नै गरेका छन् । अझ पार्क निर्माणपछि पार्ककको सौन्दर्यतासँगै सयौँलाई रोजगारी सृजना गर्ने उपमहानगरपालिकाको योजनाले अधिकांशलाई प्रभावित पारेको छ । तर, अध्यक्ष वा संयोजकत्व नै नतोकिएको नागरिक समाज भने उक्त योजना सम्पन्न गर्न दिनुँहुँदैन भनेर हात धोएर पछि परेको आरोप लाग्दै आएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार