गोदावरीको ‘भाइरल पुल’मा फोटो खिच्ने भट्टराई भन्छन्– ‘राम्रै आम्दानी हुन्छ, विदेश जाने सोच आउँदैन’ 

भक्तराज जोशी

कैलाली । धार्मिक हिसाबले निकै महत्वका साथ लिइने गोदावरी अहिले कैलाली, कञ्चनपुर लगायतका जिल्लाका पर्यटकका लागि घुमफिरको प्रमुख गन्तव्य बनेको छ । गोदावरीमा नयाँ पक्की पुल बनेपछि बन्द अवस्थामा रहेको पुरानो काठे पुललाई अहिले झण्डा, पतङ्ग लगाएर सुन्दर बनाइएको छ र त्यही पुल अहिले ‘भाइरल पुल’को नामले प्रख्यात छ । 

मठमन्दिर, शान्त वातावरण, हरियाली र औसतमा धनगढी, महेन्द्रनगर भन्दा चिसो भएकाले पनि छुट्टीको समयमा घुमफिरको रोजाईमा गोदावरी पर्नेगर्छ । 

Dengue

पछिल्ला केही महिनायता गोदावरी घुमफिर गर्न आउने मात्र होइन, व्यापार व्यवसाय गर्छु भन्नेहरुका लागि पनि अवसरको थलो बनेको छ । खासगरी पछिल्लो समय फोटोग्राफीलाई पेशाका रुपमा अँगाल्ने युवा वर्गलाई गोदावरीले तानेको छ । 

कैलालीको गोदावरी नगरपालिका २ का आकाश भट्टराई गोदावरीको ‘भाइरल पुल’मा फोटोग्राफरको काम गर्छन् । भट्टराईले गोदावरीमा फोटो खिच्न थालेको ७ महिना भयो । सुरु सुरुमा फोटो खिचेर के नै होला र ? भन्ने सोच्ने उनी अहिले फोटोग्राफीबाटै आफ्नो दैनिकी र जीविका चलाइरहेको सुनाउँछन् । 

‘म यहाँ फोटोग्राफरको रुपमा काम गर्न थालेको ६/७ महिना भयो । गर्न चाहने र गर्न सक्नेका लागि यो अवसरको ठाउँ पनि हो । यहाँ फोटो खिच्ने काम गरेरै मैले आफ्नो दैनिकी चलाइरहेको छु’, उनले भने, ‘म सँगै यहाँ थप २६/२७ जना अरु साथीहरु पनि फोटोग्राफीको काम गर्नुहुन्छ । सबैजनालाई पुगेकै छ, सबैजना सन्तुष्ट नै हुनुहुन्छ ।’ 

भट्टराईसँगै गोदावरीको ‘भाइरल पुल’मा फोटो खिच्ने अन्य युवाहरु मिलेर स्थानीय क्लब बनाएका छन् । जसले साङ्गठनिक रुपमा पुलको सौन्दर्यतामा काम गर्दै आएको भट्टराईले बताए । ‘एक्लै भन्दा समूहमा काम गर्न सजिलो हुन्छ । त्यसैले यहाँ फोटो खिच्ने २०/२२ जना मिलेर क्लब बनाएका छौँ’, उनले भने, उक्त क्लबमार्फत हामी मासिक रुपमा वा आवश्यकता अनुसार रकम संकलन गर्छौं र पुलको सौन्दर्यतामा खर्च गर्छौं ।’ 

हाल भट्टराईसहितको त्यही क्लबले क्लबका सदस्यमार्फत संकलन गरेको रकमले पुलमा रङ्गिबिरङ्गी डोकोहरु झुन्ड्याएका छन् । जसले घुमफिरका लागि गोदावरीको ‘भाइरल पुल’ पुग्नेहरुलाई आकर्षित गर्ने गरेको छ । अझ धेरैले त त्यही डोकोहरुमा फोटो खिच्ने तथा टिकटक बनाउने गरेका छन् । त्यसले आफ्नै व्यवसायमा सहयोग पुगेको भट्टराईले बताएका छन् । 

सामान्यतया गोदावरीको उक्त ‘भाइरल पुल’ आन्तरिक पर्यटकले भरिभराउ नै हुनेगर्छ । तर, शनिबार र छुट्टीको दिन पुलमा आकाशलाई भ्याईनभ्याई हुन्छ । उनीसँगै अन्य फोटोग्राफी गर्ने युवाहरुलाई शनिबार र छुट्टीका दिन त्यत्तिकै व्यस्त हुन्छन् । एउटै पुलमा २७ देखि २८ जनाले फोटो खिच्दा पनि क्यामेरा नै अपुग हुने गरेको भट्टराई सुनाउँछन् । 

‘सामान्य दिनमा पनि फोटो खिच्नेहरु धेरै नै हुन्छन्, खाली बस्नु पर्दैन’, उनले भने, ‘तर शनिबार र छुट्टीको दिन भ्याईनभ्याई हुन्छ, हामीसँग भएको क्यामेराले नै पुग्दैन ।’  

अहिले गोदावरी पुलले पर्यटक मात्रै तानेको छैन, २८ देखि ३० जना युवाहरुलाई प्रत्यक्ष रोजगारीसमेत दिएको छ । साँझबिहान आफ्नै घरको खाना खाएर युवाहरुले राम्रै आम्दानी गरिरहेको भट्टराईले बताए । उनका अनुसार अहिले गोदावरीको ‘भाइरल पुल’का कारण २८/३० जना युवाहरु विदेशिनबाट रोकिएका छन् । ‘यही पुलका कारण अहिले २८/३० जना युवा विदेशिनु परेको छैन’, उनले भने, ‘साँझ बिहान आफ्नै घरको खाना खाएर राम्रै आम्दानी गरिरहेका छन्, दैनिकी चलिरहेको छ ।’ 

अहिले अवसरको खोजीमा धेरै युवाहरु विदेश गइरहेको सम्झिदै सीप सिकेर केही गर्छु भन्ने सोचे देशमै पनि धेरै गर्न सकिने भट्टराईको भनाई छ । 

साथै उनले गोदावरीको पर्यटन प्रवद्र्धनमा स्थानीय सरकारले थप चासो दिने हो भने गोदावरीलाई राष्ट्रिय रुपमा पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने बताएका छन् । सँगै गोदावरीकै कारण आफूजस्तै अन्य थुप्रैले पनि रोजगारी पाएको भन्दै उनले गोदावरीको पर्यटकीय विकासमा स्थानीय सरकारले पनि तदारुकताका साथ लाग्नुपर्ने सुझाव दिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार