विश्वमा प्रत्येक छ जनामध्ये एक व्यक्तिमा बाँझोपनाको समस्या रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को एक अध्ययनले देखाएको छ।
विश्वको युवा जनसंख्याको १७.५ प्रतिशत अर्थात प्रत्येक ६ जनामध्ये एक व्यक्तिले जीवनको कुनै समयमा यो समस्या भोग्नुपरेको डब्लुएचओले सार्वजनिक गरेको ९८ पृष्ठ लामो प्रतिवेदनको निष्कर्ष छ। डब्लुएचओले एक दशकभन्दा लामो समयपछि बाँझोपनाबारे अनुमानित तथ्यांक सार्वजनिक गरेको हो। सन् १९९० देखि सन् २०२१ को अवधिमा विश्वका विभिन्न क्षेत्रलाई आधार मानी १०० भन्दा बढी अध्ययनमा आधारित भएर बाँझोपनाबारे नयाँ अध्ययन भएको हो।
अध्ययन अनुसार बाँझोपनाको दर तुलनात्मक रूपमा मध्य र कम आय भएका मुलुकमा बढी पाएको छ। यद्यपि, यो विश्वभर हरेक देश, क्षेत्र तथा समुदायमै गम्भीर स्वास्थ्य चुनौती बनेको बताइएको छ। उच्च आय भएका मुलुकमा १७.८ प्रतिशत र मध्य तथा कम आय भएका मुलुकका १६.५ प्रतिशत मानिसले जीवनभर बाँझोपनाको समस्या भोग्नुपरेको तथ्यांक पनि डब्लुएचओले प्रस्तुत गरेको छ।
यसले विश्वभरकै जनस्वास्थ्य समस्या र बाँझोपनाको परिणामलाई देखाएको डब्लुएचओका प्रमुख डा. टेड्रोस अधानोम गेब्रिएससले बताएका छन्। यसको रोकथाम, निदान र उपचारमा ध्यान दिनुपर्नेमा उनको जोड छ। “बाँझोपनाले कसैलाई भेदभाव गर्दैन भन्ने महत्त्वपूर्ण सत्यलाई यस प्रतिवेदनले उजागर गरिदिएको छ,” टेड्रोस भन्छन्, “बाँझोपनाले प्रभावित अधिकांश मानिसको पहुँचमा प्रजनन उपचारलाई बिस्तार गर्न जरुरी छ। सन्तान सुख चाहने सबैलाई सुरक्षित, प्रभावकारी र पहुँच पुर्याउन प्रजनन हेरचाहको सेवा विस्तारको विषय स्वास्थ्य अनुसन्धान र नीतिगत तहमा अब ओझेलमा पर्नुहुँदैन।”
सन्तान सुख असंभव नभए पनि विश्वका लाखौँ मानिसले यस क्रममा कठिनाइ भोग्नुपरेको डा. टेड्रोसको भनाइ छ। “विश्वका छ मध्ये प्रत्येक एक व्यक्ति सन्तान जन्माउन असमर्थ हुने समस्याबाट गुज्रिनुपरेको छ यो कुनै ठाउँ विशेष र स्रोत साधनमा उनीहरूको पहुँचले निर्धारण गर्दैन,” उनले भनेका छन्।
बाँझोपना पुरुष र महिलाको प्रजनन प्रणालीमा आउने समस्या हो। विशेष गरी १२ महिनाभन्दा बढी समयसम्म गर्भ नरहने वा निरन्तर रूपमा असुरक्षित यौन सम्पर्क राखे यो समस्या देखिने गरेको प्रतिवेदनमा उल्लेख छ। बाँझोपनाका कारण तनाव, सामाजिक कलंक र आर्थिक कठिनाइ बढाउने तथा मानसिक र मनोसामाजिक सन्तुलनमा प्रभाव पर्नेसमेत बताइएको छ।
बाँझोपनाको यकिन कारण नभएकाले यो जटिल समस्या पनि हो जुन समस्या महिला पुरुष दुवैले अनुभव गर्छन्। वास्तवमा भन्ने हो भने विश्वका हरेक धर्म र क्षेत्रका मानिसमा प्रजनन हेरचाहको खाँचो छ। सन्तान जन्माउने मानिसको आधारभूत चाहना परिपूर्ति गर्न उचित यौन र प्रजनन स्वास्थ्यसम्बन्धी सेवा आवश्यक पर्छ तर अधिकांश देशमा यो सेवा पर्याप्त नभएको टेड्रोसको भनाइ छ।
समस्याका चाङसँगै यसको रोकथाम र समाधानका केही उपाय पनि हामीमाझ उपलब्ध छन्। जस्तै, प्रजनन प्रविधि (आइभीएफ)। तर महँगो, थारै मानिसको पहुँचमा भएको र सामाजिक कंलक जोडिनेजस्ता समस्याका कारण यसमा वित्तीय सहयोग प्राप्त नभएको र अधिकांशको पहुँचमा पुग्न नसकेको प्रतिवेदनमा उल्लेख छ।
अधिकांश मुलुकमा प्रजनन उपचार निजी पहलमा खुलेको र महँगो भएको पनि बताइएको छ। साथै, धनी देशको तुलनामा गरीब मुलुकका नागरिकले प्रजनन हेरचाहमा खर्च गरेको पनि प्रतिवेदनले देखाएको छ। महँगोको भएकै कारण अधिकांश प्रजनन उपचारबाटै वञ्चित हुनुपरेको र सेवा लिन चाहेमा थप गरिबी भोग्नुपर्ने पनि हुनसक्ने बताइएको छ।
वित्तीय सहयोग र राम्रा नीति ल्याए प्रजनन उपचारको दायरा फराकिलो बनाउन सकिने र मानिसलाई गरिबीको चपेटामा पर्न नदिन सहयोगी बन्ने डब्लुएचओकी यौन तथा प्रजनन स्वास्थ्य अनुसन्धानकी निर्देशक डा. पास्केल अलोटी बताउँछिन्।
डब्लुएचओको नयाँ प्रतिवेदनले विश्वमा विद्यमान बाँझोपनाबारेको केही विश्वसनीय प्रमाणसमेत प्रकाश पारेको छ। साथै, अधिकांश देश र क्षेत्रमा यससम्बन्धी तथ्यांकको कमीलाई पनि देखाइदिएको गार्डियनले उल्लेख गरेको छ। कसलाई प्रजनन हेरचाह आवश्यक छ र यसका जोखिम कम गर्ने उपाय के हुन् भन्नेतर्फ पनि ध्यान दिन जरुरी रहेको प्रतिवेदनमा उल्लेख छ।
डा. टेड्रोस भन्छन्, “मानिसको प्रजनन चाहना परिपूर्ति र स्वस्थ जीवन बाँच्न एक बलियो स्वास्थ्य प्रणाली बनाउने प्रयासका रूपमा हामीले तयार पारेको प्रतिवेदन सरकारलाई प्रमाणमा आधारित नीति निर्माणमा सहयोगी बन्ने अपेक्षा लिएका छौँ।”
प्रतिक्रिया दिनुहोस्