पौडेलको कवितासङ्ग्रह ’आफ्नै माटो आफ्नै मुटु’ लोकार्पण

काठमाडौं – कवि मधुसूदन पौडेलको नवीनतम् कवितासङ्ग्रह ‘आफ्नै माटो आफ्नै मुटु’ लोकार्पण गरिएको छ । बौद्धिक सम्पत्ति संरक्षण समाज काठमाडौंद्वारा बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित एक विशेष समारोहबीच उक्त कृतिको लोकार्पण गरिएको हो ।

समाजका अध्यक्ष कृष्ण ज्ञवालीको सभापतित्वमा भएको लोकार्पण समारोहको प्रमुख अतिथिमा नेपाल प्रज्ञा–प्रतिष्ठानका निवर्तमान सदस्य–सचिव प्रा. जगत्प्रसाद उपाध्याय रहेका थिए। कार्यक्रमको विशेष अतिथिमा पूर्वअर्थमन्त्री एसपी कोइराला र अतिथिहरूमा पूर्वसंविधानसभा सदस्य नारायण शर्मा, प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ प्रा.डा. गोपिन्द्र पौडेल, प्रा. केशव सुवेदी, साझा प्रकाशनका महाप्रबन्धक प्रह्लाद पोखरेल, समालोचक डा. विन्दु शर्मा लगायतको सहभागिता रहेको थियो ।

Seti Hospital

कृतिको समीक्षा गर्दै डा. विन्दु शर्माले सद्भाव र व्यङ्ग्य दुई कुरा कवितामा समेटिएको बताए । कविताका अंश उल्लेख गर्दै डा. शर्माले कवितामा समाजदर्शन आएको बताए । कवितामा लैङ्गिक विभेद, समाजको अवस्था, देशभक्ति आदि समेटिएको उनले बताए ।

ब्यङ्ग्य कवितामा राजनीतिक, सांस्कृतिक पक्षका कमी कमजोरी उजागर भएको उनले बताए । कविले निष्ठा र कर्तव्यप्रति जोड दिँदै कविता रचना गरेको उनले उल्लेख गरे । लोक, गद्य र आधुनिक लयमा कविता रचना गरिए पनि लोकलय बलियो गरी उपस्थित भएको उनको भनाइ थियो । कवितामा बिम्बको प्रयोग पनि सशक्त रहेको उनले बताए । कविता लेखनमा मौलिकता हुनुपर्ने बताउँदै कवि मधुसूदन पौडेलका कविता अपेक्षाकृत नभएको डा. शर्माको भनाइ थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रा. जगत्प्रसाद उपाध्यायले बौद्धिक सम्पत्ति संरक्षण अभियन्ता पौडेलका कविता मननयोग्य रहेको बताए ।  पौडेल कठोर प्रशासक भए पनि भावनात्मक रहेकोले कविता सिर्जना गर्न सफल भएको उनको भनाइ थियो  । यो कृतिमा अन्तरमनलाई जागृत र झङ्कृत गराउने कविता समावेश भएको उनले बताए । ‘समाजका विकृतिलाई सुधार गर्न कविताले आग्रह गर्छ’ उहाँले भन्नुभयो, ‘समाज सुधारका उपायहरू पनि कवितामा छन् ।’ पौडेलले कृतिमा समावेश लोकगीतिलय पक्रेर अगाडि बढ्नु भयो भने शिखर चुम्न सफल हुने उनले विश्वास गरे ।

कार्यक्रममा शुभकामना व्यक्त गर्दै प्रा.डा. गोपिन्द्र पौडेलले स्रष्टा दाजु मधुसूदन सानैदेखि रसिक स्वभावको भएको सुनाए । लेखन र सिर्जना सानैदेखि गुणको रूपमा आए पनि अहिले आएर मात्रै कृति प्रकाशन गर्न सम्भव भएको उनले बताए । पछिल्लो पुस्तालाई सुप्पने उपहार सिर्जना नै भएकोले लेखनमा निरन्तरता दिन पनि उनले दाजुलाई आग्रह गरे । कार्यक्रमलाई सम्वोधन गर्दै संविधानसभा सदस्य नारायण शर्माले कृतिको शीर्षकसँग आफू पनि जोडिएको बताए । कृतिका स्रष्टा पौडेलसँगको आफ्नो सामिप्यता सुनाउँदै शर्माले प्युठानमा हुँदै उनी सिर्जनशील रहेको बताए । फरक प्रसंगमा उनले नेपाली राजनीतिमा देखिएको वैचारिक विभेदप्रति गम्भीर समीक्षा गर्नुपर्ने बताए ।

पूर्वअर्थमन्त्री एसपी कोइरालाले स्रष्टा पौडेलसँग उद्योग विभागमा रहँदाको रोचक प्रसङ्ग सुनाउँदै सिर्जनाको क्षेत्रमा लागेर पुस्तक निकाल्नु महत्त्वपूर्ण भएको बताए । सेवानिवृत्त कर्मचारीमा मधुसूदन विज्ञको रूपमा रहेको बताए ।  कविता लेखनमा मौलिकता झल्किएको बताउँदै वस्तु र भावनाप्रति उनको पृथक बुझाइ रहेको बताए । बौद्धिक सम्पत्ति संरक्षणका विज्ञ पौडेलको साहित्यमा पनि सक्षमता देखिएको भन्दै निरन्तरता दिन उनले आग्रह गरे ।

कवि मधुसूदन पौडेलले सबैलाई धर्तीले एक स्रष्टा बनाएरै जन्मदिने बताउँदै आफू त्यसमध्येको एक मात्रै भएको बताए । उनले कार्यक्रममा उपस्थित र सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा अर्चितबाबु मर्शिफूलले कृतिको ‘बिराएको बाटो’ कविता, उन्नती शर्माले कृतिमा समावेश ‘मान्छे खुल्दछ देशभक्तिमा’ शीर्षकको कविता, निकिता भण्डारीले ‘किन सकस पर्याे देशमा’ शीर्षकको गजल, बालक सक्षम पौडेलले ‘विसङ्गतिले गिरेको मति’, मधुसूदन लामिछानेले ‘सबै मुस्कुराऔं सँगै मुस्कुराउँ’ शीर्षकको कविता र शोभा रिजालले ‘सेवामा समर्पित सेविका’ शीर्षकको कविता सुनाए ।

कार्यक्रम समापन गर्दै सभाध्यक्ष तथा समाजका अध्यक्ष कृष्ण ज्ञवालीले क्षमता, छवि र स्वभावले मान्छेको व्यक्तित्व झल्कने बताए ।  त्यो व्यक्तित्व पौडेलमा भएको उनको भनाइ छ । पौडेलका कवितामा छन्द नमिले पनि रस रहेको उनले बताए । पौडेलका कविता पढेर आफू पनि प्रेरित भएको भन्दै उनले आगामी दिनमा अझ परिपक्व कविता ल्याउन शुभकामना दिए । समाजका कोषाध्यक्ष अम्मर थापाले कार्यक्रममा सहभागीहरूलाई स्वागत गरेका थिए भने कार्यक्रम सञ्चालन बालकृष्ण अधिकारीले गरेका थिए । कृतिमा हामी र हाम्रो समाज, हामी र हाम्रो राष्ट्र, हामी, हाम्रो परिवार, हामी र हाम्रो राजनीतिक परिवेश, हामी र हाम्रो चेतना शीर्षकमा ४८ वटा कविता समेटिएको छ । बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालले प्रकाशन गरेको यो कृतिको मूल्य २ सय ५० राखिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार