ब्राजिल र क्रोएसिया विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं – ब्राजिल र क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । ब्राजिलले दक्षिण कोरियालाई तथा क्रोएसियाले जापानलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।  सोमबार राति भएको राउण्ड सिक्सिटन अन्तर्गतको खेलमा ब्राजिलले कोरियालाई ४–१ ले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको हो । यस्तै क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा ३– १ गोलले पराजित गरेको हो ।

ब्राजिलले दक्षिण कोरियाविरुद्ध पहिलो हाफमै ४ गोल गरेको थियो । खेलको सातौं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै ब्राजिललाई १–० गोलको अग्रता दिलाएका थिए । खेलको १३ औं मिनेटमा नेयमारले पेनाल्टीबाट गोल गर्दै ब्राजिललाई २–० गोलको अग्रता दिलाए । दक्षिण कोरियाका वु योङ जोङले रिचार्लिसनलाई आफ्नो पेनाल्टी क्षेत्रमा लडाएपछि ब्राजिलले पेनाल्टीको अवसर पाएको थियो ।

खेलको २९ औं मिनेटमा थियागो सिल्भाको पासमा रिचार्लिसनले गोल गर्दै ब्राजिल ३–० को अग्रता लियो । यस्तै ३६औं मिनेटमा लुकास पाक्वेटाले भिनिसियसको पासमा गोल गर्दै ब्राजिललाई ४–० को अवस्थामा पुर्याए । खेलको ७६ औं मिनेटमा दक्षिण कोरियाका पाइक सुएङ–होले एक गोल फर्काए पनि ब्राजिल ४–१ ले विजयी भयो । यसैगरी, सोमबार राति भएको अर्काे खेलमा जापानलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले हराउँदै क्रोएसिया अन्तिम आठमा पुगेको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त ३० मिनेटको समयमा पनि खेल १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टीमा गएको थियो । पेनाल्टीमा क्रोएसियन गोलकिपर डोमिनिक लिभाकोभिच चम्किएपछि क्रोएसिया क्वार्टर फाइनलमा पुग्यो । क्रोएसियाका निकोला भ्लासिच, मारियो पासालीच र मार्सेलो ब्रोजोभिचले पेनाल्टीमा गोल गरेका थिए । मार्को लिभाजा भने पेनाल्टीमा चुके । जापानका ताकुमा असानोले एक गोल गर्दा ताकुमी मिनामिनो, माया योशिदा र कोरु मितोमाले गोल गर्न सकेनन् । तीनै जनाको प्रहार क्रोएसियाका गोलकिपर डोमिनिकले रोकेका थिए । पेनाल्टीमा जानु अघि जापानले खेलमा सुरुवाती अग्रता लिएको थियो । खेलको ४३ औं मिनेटमा डाईजेन मादाले गोल गर्दै जापानलाई १–० को अग्रता दिलाएका थिए । खेलको ५५ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

यो जितसँगै क्रोएसिया तेस्रो पटक क्वाटरफाइनलमा प्रवेश गरेको छ । कोरिया र जापान भने राउण्ड अफ सिक्टिनबाटै बाहिरिएका छन् । अब क्रोएसिया र ब्राजिलको भिडन्त क्वार्टरफाइनलमा हुनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार