काठमाडौँ । बालकोट घटनापछि फरार रहेका मिलन आचार्य आफैं प्रहरी कार्यालयमा उपस्थित भएका छन् । मंगलबार बिहान प्रहरी वृत्त महाराजगन्जमा उनी उपस्थित भएका हुन् । प्रहरी स्रोतका अनुसार आफैंले बुवा र भाइको हत्या गरेको भनेर उनले स्वीकार गरेका छन् ।
५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय कान्छा छोरा प्रवीन आचार्यको शव सूर्यविनायक नगरपालिका-२, बालकोट फिकाधारटोलस्थित घरको कोठामा सोमबार फेला परेको थियो ।
‘सोमबार बिहान हामीले ढोका फोरेर हेर्दा बाबु र कान्छा छोरा मृत अवस्थामा थिए । उनीहरूको शव छुट्टाछुट्टै दुई कोठामा थियो ,’ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले भने ।
किचेन बनाइएको कोठामा रहेको खाटमा कान्छा छोराको शव थियो भने बुबाको शव अर्को कोठामा थियो । बाबुछोरा दुवैका कानको तल्लो भागमा चोट छ । कोठामा भेटिएको सिलौटो र डम्बेलमा रौं र रगत भेटिएको पनि प्रहरीले जनाएको छ । तीनतले घरको भुइँतलाको कोठामा आचार्यका दुई छोरा ३ वर्षदेखि डेरा गरेर बस्दै आएका थिए ।
प्रतिक्रिया दनुहोस्