काठमाडौं : अभिनेता दयाहाङ राई केही लामो समयपछि सिनेमामा देखिने भएका छन् । करिब ६ महिनापछि उनको चलचित्र यही पुसमा प्रदर्शन हुन लागेको छ ।
‘घर ज्वाइँ’ रिलिज भएपछि त्यसयता दयाहाङको चलचित्र रिलिज भएको छैन । ‘कार्साङ’ पुस २६ गते रिलिज हुँदा दर्शकले ६ महिनापछि दयाहाङको नयाँ चलचित्र हेर्न पाउनेछन् । यो अवधि अरु अभिनेताका लागि छोटो नभए पनि दयाहाङका लागि भने छोटो हो । उनका चलचित्र एकै दिन दुईवटासम्म रिलिज भएका छन् ।
‘दयारानी’ र हात्ती छाप’ तथा ‘बिहे पास’ र ‘जारी’ एकै दिन रिलिज भएका थिए । दयाहाङका चलचित्र हरेक महिनाजसो आइरहेको आरोप लागिरहँदा यो पटक केही समयको अन्तर देखिएको हो । चलचित्र रिलिजमा अन्तर देखिए पनि दयाहाङ छायांकनमा भने व्यस्त छन् ।
‘कार्साङ’ले गरिबीको रेखामुनि रहेको एक परिवारको कथा भन्नेछ । अभावमा रहेका व्यक्तिलाई समाजले कस्तो व्यवाहार गर्छ भन्ने यो चलचित्रले देखाउने यसको टिजरले संकेत गरिसकेको छ । ‘कार्साङ’ले भुइँमान्छेको कथा भन्न दयाहाङलाई रोजेको छ । ‘कार्साङ’ यम शेर्पाको डेव्यु निर्देशन रहेको चलचित्र हो ।
‘कार्साङ’को कथा पनि निर्देशक स्वयंले लेखेका छन् ।चलचित्रमा अभिनेता दयाहाङ राईसँगै सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायत कलाकारको अभिनय छ ।
प्रतिक्रिया दिनुहोस्