एनपीएल: यी हुन तीन खेलाडी जसले जित्न सक्छन् कार !

काठमाडौं । नेपाल प्रिमियर लिगमा अब मात्रै दुई खेल बाँकी छन्। बुधबार फाइनलमा पुग्ने एउटा टोलीको टुंगो लाग्यो। अब बिहीबार अर्को टोलीको टुंगो लाग्ने छ। अनि आउँदो शनिबार उपाधि भिडन्त ती दुई टोलीबीच हुनेछ। एनपीएलका ३२ मध्ये ३० खेल सकिएका छन्। 

८ खेल खेल्दा एक खेलमा मात्रै पराजित भएको सुदूरपश्चिम रोयल्सले दोस्रोपटक जनकपुर बोल्ट्सलाई पराजित गर्दै फाइनल यात्रा तय गर्‍यो। समूह चरणमा पनि जनकपुर सुदूरपश्चिमसँग पराजित भएको थियो। 

धनगढी सूचना

तर पहिलो क्वालिफायरको पराजयले जनकपुरको उपाधि यात्रा भने रोकिएको छैन। अब जनकपुरले दोस्रो क्वालिफायर खेल्नेछ। एलिमिनेटरमा बुधबार नै चितवन राइनोजलाई पराजित गर्दै कर्णाली याक्सले दोस्रो क्वालिफायरमा स्थान बनाइसकेको छ। 

अब दोस्रो क्वालिफायरबाट जनकपुर र कर्णालीमध्ये एउटा टोलीले उपाधिका लागि सुदूरपश्चिमको सामना गर्नेछ। एनपीएलको पहिलो संस्करणको विजेताले एक करोड १० लाख रूपैयाँ पाउने नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरिसकेको छ। उपविजेताले ५१ लाख र तेस्रो हुने टोलीले २५ लाख रूपैयाँ पाउनेछन्। 

बुधबार बाहिरिएको चितवनले १५ लाख रूपैयाँ पाउनेछ। यस्तै खेलाडीहरूले व्यक्तिगत पुरस्कार पनि पाउनेछन्। तर त्यसमध्ये बढी चासो सर्वोत्कृष्ट नेपाली खेलाडी को बन्छ भन्नेमा छ। 

एनपीएलको सर्वोत्कृष्ट खेलाडी विदेशी भए पनि नेपालीमध्येको उत्कृष्ट खेलाडीले कार पुरस्कार पाउने नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले बताए।  

‘हामीले सुरुमै भनिसकेका छौँ, कार पुरस्कार पाउने नेपाली खेलाडीले मात्रै हो। प्रतियोगिताकै उत्कृष्ट खेलाडी नेपाली नै भए भने उनैले कार पाउँछन्। तर विदेशी उत्कृष्ट भए पनि नेपाली मध्येबाट उत्कृष्ट छानेर पुरस्कार प्रदान गरिन्छ। त्यो सबै निर्णय हाम्रो टेक्निकल कमिटीले गर्छ,’ लामाले भने। 

एनपीएलको उपाधि होडबाट ५ वटा टोली बाहिरिसकेका छन्। अब बिहीबार अर्को टोली पनि बाहिरिन्छ। त्यसपछि रहन्छन् दुई टोली। तर उपाधि जित्ने टोलीकै खेलाडी सर्वोत्कृष्ट हुन्छन् भन्ने निश्चित हुँदैन। अब बाँकी दुई खेल रहँदा कार जित्न सक्ने खेलाडीका रूपमा तीन खेलाडी देखिएका छन्। अबका दुई खेलमा कुनै त्यस्तो चमत्कार भएन भने पहिलो संस्करणको एनपीएलमा यिनै तीनमध्ये एकले सर्वोत्कृष्ट खेलाडीको उपाधि हात पार्ने देखिएको छ।

१. दीपेन्द्रसिंह ऐरी (सुदूरपश्चिम रोयल्स)

सुदूरपश्चिम रोयल्सका मार्की तथा कप्तान दीपेन्द्रसिंह ऐरी एनपीएलमा कार पुरस्कारका लागि मुख्य दाबेदार हुन्। एनपीएलमा व्यक्तिगत रूपमा पनि उच्च प्रदर्शन गरेका ऐरीको टोली फाइनलमा पनि पुगिसकेको छ। 

एक महिनापछि २५ वर्ष पुग्न लागेका दीपेन्द्र विस्फोटक ब्याटिङ र स्पिन बलिङका कारण मात्रै होइन, फिल्डिङका कारण झनै चर्चित छन्। अलराउन्डर प्रदर्शनकै कारण दीपेन्द्र हाल विश्व वरीयतामा दोस्रो नम्बरमा छन्। नेपाली क्रिकेटरले विश्व वरीयतामा लिएको यो नै सबैभन्दा उच्च स्थान हो। 

फिल्डिङमा हुँदा रनआउट गर्नु र ब्याटिङमा रहँदा दौडिएर धेरै रन बनाउनु उनको अर्को खुबी हो। विस्फोटक ब्याटिङमा पनि उनले कीर्तिमान नै रचेका छन्। मात्रै ९ बलमा अर्धशतक बनाएर उनले सबैभन्दा छिटो अर्धशतकको कीर्तिमानमा आफ्नो पनि नाम लेखाएका छन्। जुन कीर्तिमान बराबरी हुन सके पनि तोडिन असम्भव छ।

जारी एनपीएलमा पनि दीपेन्द्र नेपालको तेस्रो बढी रन बनाउने खेलाडी हुन्। दीपेन्द्रले ८ खेलमा २१८ रन बनाएका छन्। पहिलो खेलमा विराटनगरविरुद्ध नटआउट ५७ रन बनाएका दीपेन्द्रले दोस्रो र तेस्रो खेलमा पनि उच्च प्रदर्शन कायम राख्दै टोलीलाई लगातार जित दिलाए। चौथो खेलमा आएर उनको ब्याट चलेन, बलिङ पनि राम्रो हुन सकेन। चितवनविरुद्ध उनी एक रनमै आउट भए भने एक विकेट मात्रै लिएर ३२ रन खर्चिए। जुन खेलमा उनको टोली सुदूरपश्चिम पराजित भयो। तर उनको टोलीका लागि यो नै अहिलेसम्मको एक मात्रै खराब नतिजा हो। 

जनकपुरविरुद्ध पनि उनले रन बनाउन सकेनन् तर त्यो खेलमा २ विकेट लिन सफल भए। पोखराविरुद्धको खेलमा २० रन बनाएका दीपेन्द्रले त्यसपछिका दुवै खेलमा अलराउन्ड प्रदर्शन गरेका छन्। लिग चरणको अन्तिम खेलमा ३८ रन बनाउँदा २ विकेट लिएका थिए। सोमबार जनकपुरमाथि जित निकाल्दै टोली फाइनलमा पुग्दा उनले नटआउट २० रन बनाए भने ३ विकेट पनि लिए। जारी एनपीएलमा दोस्रो पटक प्लेयर अफ द म्याच हुने एक मात्रै नेपाली खेलाडी पनि दीपेन्द्र हुन्। 

उनीभन्दा अगाडि चितवनका कप्तान कुशल मल्ल र लुम्बिनीका कप्तान रोहित पौडेल मात्रै छन्। रोहितले २७९ रन र कुशलले २२३ रन प्रहार गरेका छन्। तर दीपेन्द्रले अझै फाइनल खेल्न बाँकी रहेकाले उनको रन थपिने सम्भावना छ। कुशल र रोहितका टोली भने आउट भइसकेका छन्। 

२. रोहित पौडेल (लुम्बिनी लायन्स)

लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल एनपीएलका उत्कृष्ट नेपाली ब्याटर हुन्। एनपीएलमा सबैभन्दा पहिले लिग चरणबाटै बाहिरिने निश्चित भएपछि रोहितले भनेका थिए– पहिलो संस्करण  हाम्रा लागि राम्रो भएन। दुईपटक शतकनजिक र एकपटक अर्धशतक नजिक रन बनाएका रोहित त्यतिबेलासम्म एनपीएलकै सर्वाधिक रन बनाउने खेलाडी थिए। तर सो आँकडालाई ८ औँ खेलमा चितवनका विदेशी खेलाडी रवि बोपाराले पार गरे।

व्यक्तिगत प्रदर्शन उच्चस्तरीय हुँदा हुँदै पनि टोली बाहिरियो। रोहितले लिग चरणका ७ खेलमा २७९ रन बनाएर सबैलाई पछि पारे। उनको यो स्कोर समान खेलमा कसैले पनि छुन सकेनन्। 

तर ब्याटिङमा सानदार सुरुवात गरेको लुम्बिनीको बहिर्गमन भने खराब ब्याटिङकै कारण भयो। लुम्बिनीको टिममा यस्तो देखिन थाल्यो कि रोहित चले ब्याटिङ चल्यो, रोहित चुके सामान्य लक्ष्य पनि भेट्न सकेन। पहिलो खेलमा लुम्बिनीले सानदार ब्याटिङ गर्‍यो। एनपीएलमा सबैभन्दा ठूलो लक्ष्य प्रस्तुत गरेको कीर्तिमान नै भयो। तर त्यो कीर्तिमान अरु दुई घण्टासम्म पनि टिक्न सकेन। विराटनगरले १९२ रनको लक्ष्य पूरा गर्दै खेल जित्यो। 

पहिलो खेलमा राम्रो गर्दागर्दै पनि पराजित भएपछि रोहितले त्यसपछिका खेलमा राम्रो गर्ने प्रतिक्रिया दिएका थिए। पहिलो खेलमा अर्धशतक बनाउन ४ रनले चुकेका रोहित दोस्रो खेलमा शतकनजिक पुगे। पोखराविरुद्ध ९५ रन बनाएर उनी अन्तिम बलमा रनआउट भए। उनकै राम्रो प्रदर्शनमा लुम्बिनीले पोखरालाई १७१ रनको चुनौती दियो। 

त्यो खेलमा उनको टोलीका सबै बलर फ्लप भए। पोखराविरुद्ध झनै खराब नतिजा व्यहोर्यो। १७१ रनको लक्ष्य पोखराले १६.५ ओभरमा बिनाविकेट पूरा गर्‍यो र एनपीएलमा १० विकेटको जितको कीर्तिमान रच्यो। 

रोहितको सानदार ब्याटिङका बाबजुद लुम्बिनी हार्दै जाने अरु टोली उसैकाविरुद्ध कीर्तिमान बनाउने क्रम रोकिएन। सुदूरपश्चिमविरुद्ध उनले मात्रै ५ रन बनाए र एक विकेट पनि लिए। अघिल्ला दुई खेलमा चलेको ब्याटिङ यो खेलमा १४२ मै रोकियो। तेस्रो खेलमा पनि लुम्बिनी जितविहीन भयो।

चौथो खेलमा रोहितले ३५ रन बनाए। बलिङमा २२ रन खर्चिएर २ विकेट पनि लिए। तर त्यो खेलमा जनकपुरले एक रनले जितेको कीर्तिमान बनायो। एक रनको हारजित जारी एनपीएलमा यही मात्र हो। १३६ रनको लक्ष्य पछ्याएको लुम्बिनी १३५ रनमै समेटियो। रोहितले टोलीलाई सहज अवस्था छाडेर बाहिरिए पनि उनीपछिका ब्याटरले सम्हालिएर प्रदर्शन गर्न सकेनन् र चौथो हार ब्यहोर्न बाध्य पारे।

चार हारपछि पनि रोहितको भने व्यक्तिगत प्रदर्शन उच्च रह्यो। पाँचौँ खेलमा चितवनविरुद्ध रोहित ८० रन बनाएर आउट भए। लुम्बिनीले चितवनलाई १६८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जुन लक्ष्य पछ्याएको चितवनको ब्याटिङ पनि रोहितले नै धरासायी बनाए। खेलको प्लेयर अफ द म्याच समेत बनेका रोहितले पूरै ४ ओभर बलिङ गर्दै मात्रै १७ रन खर्चिएर ४ विकेट लिए। 

यो नै पहिलो एनपीएलमा लुम्बिनीको एक मात्रै जित बन्यो। त्यसपछिका दुई खेलमा भने रोहितको ब्याटिङ पनि चलेन। काठमान्डुविरुद्ध ८ रन र कर्णालीविरुद्ध १० रन बनाएर एक विकेट लिए।  

समग्रमा रोहितको उच्च प्रदर्शन भए पनि अन्य खेलाडीले योजना अनुरूप प्रदर्शन गर्न असफल रहे। तर एनपीएलको उत्कृष्ट खेलाडी छनोट गर्दा व्यक्तिगत प्रदर्शन नै हेरिने हो। यदि रोहितले लिग चरणमा गरेको प्रदर्शनलाई आधार मान्ने हो भने अन्य खेलाडीलाई पछि पार्नेछन्। 

यसका केही उदाहरण विश्व खेलकुदमै छन्। सन् २०१४ को विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिना जर्मनीसँग पराजित भयो। जर्मनीले विश्वकप उपाधि जित्यो। सो विश्वकपमा सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि कोलम्बियाका हामेस रोड्रिग्वेज बने। तर सो विश्वकपको सर्वोत्कृष्ट खेलाडी लियोनल मेस्सीलाई घोषणा गरियो। 

अहिले रोहितको पनि यही अवस्था छ। उनको उच्च प्रदर्शनका बाबजुद टोली उपाधि होडबाट बाहिरिएको हो। तर रोहितले बनाएको जति रन अब बाँकी खेलमा पनि नेपाली ब्याटरले नबनाउन सक्छन्। त्यसैले रोहित पनि सर्वोत्कृष्ट नेपाली खेलाडीलाई दिइने कारका हकदार हुन्। 

३. ललित राजवंशी ( जनकपुर बोल्ट्स)

नेपाल प्रिमियर लिगमा सबैभन्दा धेरै विकेट लिने नेपाली बलर हुन् जनकपुर बोल्ट्सका ललितनारायण राजवंशी। उनी सुदूरपश्चिमका विदेशी खेलाडी स्कट कुगलाइनभन्दा २ विकेटले पछि छन्। तर यो रेकर्ड पनि तोड्ने अवसर ललितलाई छ। 

८ खेल खेलिसकेका ललितले अझै २ खेल खेल्ने सम्भावना छ। तर सुदूरपश्चिमका स्कटले भने अब मात्रै एक खेल खेल्नेछन्। ललितको टोली जनकपुर बुधबार सुदूरपश्चिमसँगै पराजित भयो। तर अब दोस्रो क्वालिफायरबाट फाइनलमा प्रवेश गर्ने र सुदूरपश्चिमसँग लगातार दुई खेल हारेको बदला लिँदै उपाधि जित्ने ढोका जनकपुरका लागि खुल्लै छ। त्यसका लागि जनकपुरले बिहीबार दोस्रो क्वालिफायरमा कर्णालीलाई पराजित गर्नुपर्छ। यसअघि लिग चरणमा कर्णालीलाई पराजित गरेको थियो। 

राष्ट्रिय टोलीका सदस्य समेत रहेका ललित एनपीएलमा सबैभन्दा बढी बलिङ गर्ने खेलाडी समेत हुन्। उनले ८ खेलमा पूरै चार ओभरका दरले ३२ ओभर बलिङ गरिसकेका छन्। नेपाली खेलाडीमा सबैभन्दा धेरै १४ विकेट लिएका छन्। 

उनी एक खेलबाहेक सबै खेलमा विकेट लिन सफल छन्। पहिलो खेलमा विराटनगरविरुद्ध ३ विकेट लिएका उनले कर्णालीविरुद्ध १ विकेट लिए। पोखराविरुद्ध फेरि ३ विकेट र लुम्बिनीविरुद्ध १ विकेट लिए।

सुदूरपश्चिमविरुद्ध लिग चरणको खेलमा विकेटविहीन भएका ललितले काठमान्डुविरुद्ध भने निर्णायक प्रदर्शन गरे। उनले ४ ओभरमा मात्रै ८ रन दिएर ३ विकेट हात पारेका थिए। चितवनविरुद्धको खेलमा पनि ११ रनमात्रै खर्चिएर २ विकेट लिन सफल भए। पहिलो क्वालिफायरमा भने ललितले सुदूरपश्चिमको एक विकेट मात्रै लिए। 

अब हुने कर्णालीसँगको खेलमा २ विकेट लिन सके ललित एनपीएलकै सर्वाधिक विकेट लिने बलरमा पर्नेछन्। ललितको टोली जनकपुरले अब कर्णालीविरुद्ध गर्ने प्रदर्शन र त्यो खेल जिते फाइनलमा हुने प्रदर्शनले ललित सर्वोत्कृष्ट खेलाडी बन्छन् कि बन्दैनन् भन्ने तय गर्नेछ। तर अहिलेसम्म भने उनी उत्कृष्ट बलर हुन्।

जनकपुरलाई क्वालिफायरसम्म ल्याइपुर्‍याउन उनको महत्त्वपूर्ण भूमिका छ। अब जनकपुरलाई उपाधिसम्म लैजान सके त्यसको जस ललितमा जानेछ र उनी सर्वोत्कृष्ट नेपाली खेलाडी बन्न सक्नेछन्। -नेपालखबरबाट

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार