भद्रगोल एनपिएल : उद्घाटन दिनमै दर्शकदेखि क्यान पदाधिकारीको बिजोग (फोटो फिचर)

काठमाडौं : निकै तामझाम र उत्साहका साथ सुरु गरिएको नेपाल प्रिमियर लिग ( एनपिएल) केहीका लागि मात्रै उत्सव देखिएको छ । ८ टिम सहभागी एनपिएलमा अर्ब बराबरको आर्थिक गतिविधिको अनुमान छ ।

राष्ट्रियदेखि अन्तर्राष्ट्रिय खेलाडी सहभागी रहने एनपिएलको उद्घाटन भव्य हुने आकलन थियो । सहभागी टिमको उत्साह र नेपाल क्रिकेट एसोसिएसन (क्यान)ले गरेको प्रचारबाजीले एनपिएल भव्य हुने देखिन्थ्यो ।

धनगढी सूचना

महिना दिन भन्दा लामो समयदेखि क्यानका सचिव पारस खड्काको सक्रियता अनि एनपिएलसँग सहकार्यका लागि जोडिएका ब्रान्डको फोटाले बजार तताएको पनि थियो ।

तर, एनपिएलको उद्घाटन सत्र यति बिजोक देखियो की त्यहाँ टोले प्रतियोगिताको व्यवस्थापन भन्दा पनि कमजोर व्यवस्थापकीय पक्षको उदाङ्गोपन देखियो । लामो समयदेखि क्यानले देखाएको चुरीफुरी निमेषमा स्वाहा भयो ।

तीन दिन अगाडी नै टिकट बेचेर कीर्तिमानी काम गरेँ भन्ने क्रिकेट एसोसिएसनमा पदाधिकारी तीनैलाई मैदान प्रवेश गराउन सक्षम देखिएनन् । प्रतियोगिताको रौनक हुनुपर्ने दिनमा भिडमा च्यापिएकाको उद्धार, मैदान बाहिर टिकट काटेकाको मलिन अनुहार र मैदानमा टिकटै नकाटी छिर्न पाएकाहरूको उत्साहले ढाकिएको थियो ।

प्रतियोगिताको हप्ता दिन अगाडी फारम भराएर प्रेस पास उपलब्ध गराउने क्यानको योजना अन्तिम दिनमा फुसुक्क भयो ।

औलामा गन्न सकिने क्यानको मिडिया हेर्ने भानु सिग्देल र केही पदाधिकारीका प्रिय पत्रकारलाई मात्र पास दिएर अरूलाई गेटमा बिचल्ली बनाए । खेल हेर्न आएका पाँच अनि खेल स्थलको सुरक्षामा खटिएका दुई प्रहरी भिडमा च्यापिएर सख्त घाइते भए । एक प्रहरीको ज्यान अझै जोखिममा छ । यी सबै घटनाको जिम्मेवारी लिनुपर्ने क्यान पदाधिकारी कहाँ छन् अहिलेसम्म थाहा छैन ।

एनपिएल उदघाटनको तयारी र कीर्तिपुरमा गरिएको लगानी छिनभरमा बालुवामा पानी हालेझैँ भएको छ । विश्वव्यापी रूपमा प्रसारण पहुँच पुर्‍याउने भन्दै स्टार स्पोर्ट्सलाई भित्र्याएको क्यानको प्रसारणमाथि पनि थुप्रै प्रश्न उब्जिएका छन् ।

उद्घाटनको सत्रमा सहभागी हुन गएका क्यानका पदाधिकारी नै मूल गेट अगाडी आक्रोशित देखिएका थिए । आफ्नै आयोजनामा भएको प्रतियोगिताको व्यवस्थापकीय पक्षबाट असन्तुष्ट उनीहरू सोमबार कालो झन्डा लिएर मैदान आउने बताइरहेका थिए ।

समग्रमा ठुलो लगानी र प्रतीक्षित बनाइएको एनपिएल उद्घाटन दिनबाट नै भद्रगोल र अव्यवस्थित बनेको देखियो । यसबाट क्यानको व्यवस्थापन मात्र होइन नियतमा पनि खोट छ की भन्ने देखिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार