धनगढी । धनगढी-१९ कि २९ वर्षीया सम्पति चौधारी अहिले लेहेंगा, चोली र थारु पहिरन सिलाउनमै व्यस्त छिन ।
विगत ९ वर्षदेखि निरन्तर लत्ताकपडा सिलाउँदै आएकी सम्पतिको दैनिकी नै थारु समुदायको सांस्कृतिक पोशाक सिलाएरै बित्ने गर्छ । उनले आफ्नो व्यवसायिक जीवनभर थारु महिलाले लगाउने लेहेंगा, चोलो, ब्लाउज लगायत विभिन्न डिजाइनका लुगाहरु सिलाउँदै आएका छिन ।
सम्पतिको रिया फेन्सि तथा कटाई सिलाई सेन्टरमा अहिले ५ जनाले रोजगारी पाएका छन् । सिलाइ सेन्टरमा विभिन्न डिजाइनका लुगा सिलाउने भए पनि पछिल्लो समय लेहेंगाको माग बढि भएको सम्पतिले बताइन ।
सम्पतिका अनुसार पछिल्लो समय कल्चरल सिजन र ट्रेण्डमा परम्परागत पोशाकको बढ्दो प्रयोगले पनि लेहेंगाको माग र खपत बढ्दै गएको छ । अझ पछिल्लो समय गैर थारुहरुले पनि थारु कल्चरल पोशाक लगाउन थालेपछि लेहेंगाको माग झनै बढेको सम्पतीले बताएकी छिन ।
‘आजभोलि चाडबाडमा परम्परागत पोशाक लगाउने बढ्दा थारु पोशाको माग पनि बढेको छ’, उनले भनिन, ‘अझ थारु पोशाकप्रति अहिले गैर थारु महिलाहरुको पनि आकर्षण बढेपछि लेहेंगा, चोली बनाउने ग्राहक पनि बढेका छन् ।’
सम्पतिका अनुसार अहिले कामदारको तलब, घर भाडा र आफ्नो मिहेनत छुट्ट्याएर पनि सिजनमा मासिक ७० हजार रुपैयाँसम्म आम्दानी हुनेगर्छ । तर अफसिजनमा भने मासिक ३५ देखि ४० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको सम्पतिले बताएकी छिन । ‘सिजनमा कामदारको खर्च, भाडा र आफ्नो मिहेनत कटाएर महिनाको ७० हजारसम्म आम्दानी हुन्छ’, उनले भनिन, ‘अफसिजनमा चाहिँ खर्च कटाएर ३५ देखि ४० हजारसम्म आम्दानी हुन्छ । ‘
त्यसो त सम्पतीले सिलाइकटाइ भन्दा पहिला आफुलाई पढाइ लेखाइ गर्ने ठुलो रहर भएको सुनाइन । तर घरको कमजोर आर्थिक अवस्थाका कारण पढ्न नपाएको र १२ सम्म मात्रै पढाइ सकेको सम्पतिले बताएकी छिन ।
‘मलाई पढ्ने रहर धेरै थियो । तर कमजोर आर्थिक अवस्थाका कारण पढ्न सकिन’, उनले भनिन, १२ कक्षा मात्र पास गरेको छु । ‘
त्यहीबेला तत्कालीन गाबिसमा सिलाइकटाइ सम्बन्धी तालिम खुलेको र २ वर्ष प्रशिक्षकका रुपमा काम गरेपछि गाविसकै सहयोगमा रिया फेन्सी तथा कटाइ सिलाइ सेन्टर खोलेको बताएकी छिन । सोहि सेन्टरबाट आफुलाई स्थापीत गर्नुका साथै आफ्नो खुट्टामा आफैं उभिन सकेको सम्पतीले बताएकी छिन ।
सम्पतिका अनुसार लेहेंगा बनाउन सक्नु एक विशेष कला हो । थारु समुदायमा पनि जात फरक फरक हुने भएकाले फरक फरक खालको लेहेंगाको डिजाइन हुने गर्दछ। एउटा लेहेंगा तयार पार्न विभिन्न खण्ड–खण्डलाई जोड्नुपर्ने उनको भनाइ छ । लेहेंगा बनाउन मेहनत बढि लागे पनि मेहेनत अनुसारको कमाई पनि हुने गरेको उनले बताएकी छिन ।
पढाइ भन्दा सिकाई, सिप र अनुभव ठुलो भन्ने महसुस गरेकी सम्पतीले आफ्नो नामसंगै व्यवसाय पनि थप बढाउँदै लैजाने योजना बनाएकी छिन । जिवनमा धेरै गर्छु भन्ने लक्ष लिएकी सम्पतीले आगामी दिन पनि यही व्यवसायमा व्यतित गर्ने उल्लेख गरेकी छिन ।
प्रतिक्रिया दिनुहोस्