अनलाइन रोजगारीका विज्ञापनदेखि सावधान !

काठमाडौं : आजकाल हरेक कुराको विज्ञापन गर्ने थलो या माध्यम सामाजिक सञ्‍जाल नै हुन् । रोजगारी खोज्दै भौँतारिएकाहरू त्यहाँ ठोक्किन पुग्छन् ।

पछिल्लो समय अनलाइन रोजगारीका नाममा विभिन्न विज्ञापनहरू आइरहेका छन् । फेसबुक, ट्वीटर र इन्स्टाग्राममा त्यस्ता विज्ञापन प्रशस्त देखिन्छन्‌ । समय अनुसार खोजेको जस्तो जागिर नभए पनि पार्ट टाइम काम गर्दा केही पैसा आम्दानी हुने लोभमा परेर मानिसहरू ठगिन पुगेका छन् ।

Dengue

केही दिनअघि कमला शर्मा (नाम परिवर्तन) पनि यसरी नै ठगिन पुगेकी छन् । उनले गर्दै आएको जागिर बच्चा जन्माएपछि छोडेर बसिरहेकी थिइन् । छोरी हुर्काउँदा–हुर्काउँदै दुई वर्ष समय गएको पत्तै भएन । तर अब उनलाई जागिर गर्नुपर्छ भन्ने लाग्यो । उनले चिने/जानेको र पत्रपत्रिकामा प्रकाशित सूचनामा उल्लेखित ठेगानामा वैयक्तिक विवरण (सीभी) पठाइन् । तर, कतैबाट पनि प्रतिक्रिया आएन ।

सानो बच्चाकी आमा भएकाले कम्पनीहरूले बेवास्ता गरेको बताउँदै उनले भनिन्, ‘अन्तर्वार्तासम्म बोलाए, तर घरमा दुई वर्षको छोरी छ भनेपछि चासो दिएनन् ।’ बच्चाको आमाले कम्पनीलाई उचित समय दिन नसक्ने र काममा पनि ध्यान नहुने भन्दै काममा राख्न नसक्ने कुरा गरेको उनले सुनाइन् ।

जागिर नगरेको धेरै समय बितिसकेको थियो । आफूले गर्दै आएको काम बिर्सन्छु कि भन्ने उनलाई निकै डर थियो । स–सानो भए पनि अल्झिने बाटो उनले खोजिरहेकी थिइन्‌। एकदिन फेसबुकमा ट्रान्सलेसन (अनुवाद) का लागि मान्छे खोजिरहेको विज्ञापन देखिन् ।

उनले पहिले पनि अंग्रेजीबाट नेपालीमा अनुवाद गर्ने गरेकी थिइन्‌ । उनका लागि त्यो नयाँ काम थिएन । खुसी हुँदै उनले उक्त पेजमा मेसेज गरिन्  । त्यहाँ एक टेलिग्रामको आइडी आयो- ‘हमित सोटेडु’ भन्ने नामको । त्यो मान्छे टेलिग्राममा लिङ्क भयो । त्यसपछि कुराकानी भयो ।

उनले ‘कस्तो खालको ट्रान्सलेसन हो ?’ भनेर सोधिन् ।

उनीहरूले लामो मेसेज रिप्लाई गर्दै पठाए, ‘अमेरिकी अनलाइन हायर’ कम्पनी हो । हामी अनुवादको काम दिन्छौँ । अब तिमीलाई पनि हामी काम दिन्छौँ। यस कामको लागि तिमीलाई भर्ना गर्छौं । हामीलाई चाहिएको मान्छे पायौँ, अब यहाँ पेजमा राखिएको विज्ञापन डिलिज गर्छौं ।’

यसरी कुरा गर्दासम्म शर्मालाई सो विज्ञापन फेक हो भन्ने लागेन । त्यसकारण उनले आफ्नो तर्फबाट काम गर्ने सहमति राखिन् । उनीहरूले एक बेभसाइट दिएका थिए ।

‘अहिले ग्लोबलाइजेसनको समयमा अनलाइन जब हुँदैन भन्ने पनि होइन । तर, बेभसाइट भने खुलेको थिएन । किन खुलेन भनेर पनि सोधेको हो । मेन्टेनेन्स भइरहेको भएर अहिले खुलेन भन्ने जवाफ आयो । त्यो पनि होला भन्ने लाग्यो,’ शर्माले भनिन्‌ ।

उनीहरूले सय पेजको अंग्रेजी किताब पठाए । त्यो किताबको नाम थियो– ‘ओ हेन्री’ ।

त्यो अंग्रेजी साहित्यिक किताब थियो । उनीहरूले भनेका थिए– यो साहित्यिक किताब हो, यसलाई सबै भाषामा ट्रान्सलेट गर्न खोजिएको हो । यो किताब अन्य धेरै भाषामा ट्रान्सलेट गरिँदैछ ।

‘उनीहरूले सय पेजको किताब शुक्रबार पठाएका थिए । आइतबारसम्ममा काम सकाएर पठाउनु भने,’ उनले भनिन्, ‘बेरोजगारीको अवस्था थियो । पार्टटाइम भए पनि पाएको कामले ऊर्जा दिएको थियो । छोटो समयमा धेरै ट्रान्सलेट गर्नुपर्ने थियो । दिनमा मात्रै नभएर रातमा नसुती काम गरेँ । मिहिनेत धेरै भए पनि पैसा राम्रै थियो । आफूले नजानेको र नबुझेको कुरा गुगलमा खोजेर पनि गरेँ ।’

उनले थपिन्, ‘आइतबार बुझाउनुपर्ने, तर काम सकिएन । उनले थप समय मागिन् । तर उनीहरूले ५० पेजको मात्रै गरेर पठाउन भने । त्यो सिध्याउन पनि मलाई मंगलबारसम्म लाग्यो । उनीहरूले अनलाइन स्यालरी बोर्डसँग कुरा गरेर १०० पेज गरेको २५ सय अमेरिकी डलर पारिश्रमिक हुने कुरा गरेका थिए । पछि ५० पेजको १३५० डलर दिने कुरा भयो ।

काम सकेपछि उनले पठाउनको लागि इमेल आइडी मागिन् । तर उनीहरूले टेलिग्राममै पठाउन भने । प्रति फन्टमा लेखेको टेलिग्राममा पठाउँदा बिग्रने रहेछ । उनीहरूले केही बुझेनन् । त्यसपछि फेरि युनिकोड फन्टमा बनाएर पठाइन् ।

उनीहरूले कामको निकै तारिफ पनि गरे । ‘तिमीले धेरै राम्रो काम गर्‍यौ’ भनेर एक पेपर पनि पठाए । पेपरमा नेपाली  २ लाख २० हजार रुपैयाँ कमला शर्माको नाममा आउने देखाएको छ ।

उनी आफ्नो पारिश्रमिक देखेर चकित थिइन् । पैसा हातमा नआए पनि पैसा आउने पेपर हातमा आएको थियो । तर उनको खुसी क्षणभर पनि टिकेन । उक्त पारिश्रमिक पाउन उनीहरूले उल्टै पैसा मागे ।

उनी भन्छिन्, ‘उनीहरूले यो पैसा अहिले पठाउन मिलेन । यो रोकिएको छ, पेन्डिङमा छ । यो पैसा झिक्नका लागि तिमीले पहिले पैसा पठाउनुपर्छ भने । त्यसपछि बल्ल तिम्रो एकाउण्टमा पैसा पठाउन मिल्छ भन्यो ।’

त्यो पारिश्रमिक पाउनको लागि उनले यताबाट चार हजार रुपैयाँ पठाउनुपर्ने भयो । त्यत्रो मिहिनेत, पारिश्रमिक उनले माया मार्न सकिनन् । चार हजारको लोभ गरेर त्यत्रो पारिश्रमिक छोड्ने कुरा भएन भन्ने लाग्यो । पैसा पठाउने निर्णयमा पुगिन् ।

तर, पैसा पठाउन भन्दा अगाडी उनले आमासँग कुरा गरिन् । आमाले ‘तिम्रो मिहिनेतको पैसा दिनलाई यताबाट पैसा पठाउनु पर्ने भन्ने हुँदैन । काम गर्न लगाउने उनीहरू, जसले काम गर्‍यो उसैले पैसा पठाउने भन्ने हुन्छ ?’ भनेर उल्टै प्रश्न गरिन्‌ । सो काम नै फेक भएको बताइन्‌ ।

त्यसपछि उनले श्रीमानसँग पनि कुरा गरिन् । उनले पनि काम गरेको पारिश्रमिक पाउन पैसा पठाउनुपर्ने भन्ने कहिँकतै हुँदैन भने । त्यसपछि पनि उनलाई चित्त बुझेन । चार हजार रुपैयाँले पारिश्रमिक रोकिएको कुराले मन खाइरह्यो । रातदिन काम गरेको श्रम र समय लगानी भएको थियो ।

सानो बच्चाको समय खोसेर उनले काम गरेकी थिइन् । त्यसपछि फेरि उनले एक जना साथीसँग कुरा गरिन् । साथीले उनीहरूको क्यूआर माग्न भनिन् । उनैले भनेअनुसार मागिन् पनि ।

सुलिन्दर महतो नामको क्यूआर आयो । त्यसमा नबिल बैंकको एकाउन्ट नम्बर थियो । उनले पुन : ‘किन मैले पैसा पठाउनुपर्ने ?’ भनेर सोधिन् । ‘रोकिएको रकम फिर्ता पाउन पहिले पैसा तिर्नुपर्छ’ भन्ने जवाफ आयो । उनले एनएमबी बैंकको खातानम्बर दिएकी थिइन । बैंकको लागोसहित उनीहरूले एक पेपर पठाएका थिए ।

पैसा नपठाएपछि अनलाइन स्यालरी बोर्ड भन्ने अर्को थियो । त्यसले आफ्नो कम्पनीसँग काम गरेका मान्छेहरूको लिस्ट पठायो । फिलिपिन्स, भियतनाम र म्यानमारका मान्छेहरुले काम गरेको भिडियो पनि पठायो । ‘हामीलाई विश्वास नगर्ने ? पैसा नपठाउने ?’ भनेर उल्टै रिसाउन थाले ।

त्यसपछि उनीहरूले टेलिग्रामको सबै मेसेज डिलिट गरे । उनीहरूले गरेपछि, उनको  पनि डिलिट हुने रहेछ । पैसा र समयको सदुपयोग दुवैको लागि उनले काम गरेको थिइन् । अहिले सबैतिर खोज्दा पनि उक्त ‘अमेरिकन अनलाइन हायर’ भन्ने कहीँ पनि नभेटिएको उनको भनाइ छ ।

घरका र साथीहरूले ‘पढेको मान्छे, यति सामान्य कुरामा कसरी ठगिएको’ भनेर गाली गरिरहेको उनले सुनाइन् । भन्छिन्, ‘म काम नपाएर भौँतारिएकी थिए । के गरेर पैसा जोड्ने भन्ने थियो ।’

‘पैसा नठगिए पनि श्रम ठगिएको छ, श्रम भनेको पैसा नै हो । मैले पहिलोपटक थाहा पाएँ । यस्ता ठगीहरू ह्वाट्सएप र टेलिग्रामबाट हुने रहेछ,’ शर्माले भनिन्, ‘टेलिग्राम मेसेज ठगीको माध्यम बनिरहेको छ । घरै बसेर मोबाइल तथा ल्यापटपबाट काम गर्न सकिने भनेर विज्ञापन गर्छन् । उनीहरूले एक अर्डर दिने जस्तो गर्ने र पैसा माग्ने गरेका छन् ।’

आफू ठगिए पनि अनलाइन कामको लागि आएको विज्ञापनमा धेरै सचेत हुन उनले सबैलाई सुझाव दिएकी छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार