टी२० एशिया कप खेल्ने अनपेक्षित अवसर पाएको नेपाली महिला टोली कति बलियो !

एजेन्सी : गत वर्ष श्रीलङ्कामा आयोजित एशिया कपमा नेपाली राष्ट्रिय क्रिकेट पुरुष टोलीले भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्दा धेरै चर्चा पायो। नेपाली टोलीको खेलको धेरैले प्रशंसा गरे।

अब उस्तै अवसरको मुखमा महिला क्रिकेट टोली पनि छ। श्रीलङ्कामा हुन लागेको टी२० एशिया कपमा नेपालले भारत, पाकिस्तान र यूएईसँग प्रतिस्पर्धा गर्ने छ।

Dengue

क्रिकेटमा महिला टोलीले पुरुष टोलीले जस्तो खासै चर्चा पाउँदैन। तर पुरुष टोलीले जसरी नै प्रदर्शन गर्ने अवसर पाएको नेपाली महिला एशिया कपमा अप्रत्याशित परिणाम हात पार्ने आशामा छन्।

एशियाका आठ उत्कृष्ट टोलीबीच हुन लागेको प्रतिस्पर्धाअगाडि टोलीकी एक मुख्य खेलाडी सीता राना मगर भन्छिन्, “ हाम्रो लक्ष्य कुनै टेस्ट राष्ट्रलाई हराउने सम्मको हुने छ।”

के हो एशिया कप

नेपाली महिला क्रिकेट

एशियाली क्रिकेट परिषद् (एसीसी) ले सन् २००४ मा ‘एसीसी विमिन्स एशिया कप’ सुरु गरेको हो।

सुरुमा एकदिवसीय प्रणालीमा खेलाइएको यो प्रतियोगिता सन् २०१२ पछि टी२० को शैलीमा हुन थाल्यो।

शुक्रवार सुरु हुने एशिया कपको यो नवौँ संस्करण हो। प्रतियोगितामा भारतको वर्चस्व रहँदै आएको छ।

यसअघि आठ पटक भएको प्रतियोगितामा भारतले सात पटक उपाधि जितेको छ। एक पटक बाङ्ग्लादेश विजयी भएको छ।

यो प्रतियोगितामा आईसीसीका पूर्ण सदस्यराष्ट्रले सीधै सहभागी हुन पाउँछन् भने असोसिएट राष्ट्रले छनोट प्रतियोगिता खेल्नुपर्छ। टेस्ट राष्ट्र भएर पनि अफगानिस्तानको महिला टोलीले भने यो प्रतियोगितामा सहभागी हुने गरेको छैन।

यस बर्ष चार टेस्ट र चार असोसिएट गरी प्रतियोगितामा आठ राष्ट्र सहभागी छन्।

नेपालले कसरी पायो अवसर

अभ्यास गर्दै नेपाली महिला क्रिकेट खेलाडी

नेपाल यो वर्षको छनोट चरणबाटै बाहिरिएको थियो। एशिया कपको छनोट प्रतियोगिताको रूपमा रहेको एसीसी विमिन्स प्रिमिअर कपको सेमिफाइनलमा पराजित भएपछि नेपाल छनोट हुन विफल भएको थियो। गत फेब्रुअरीमा आयोजित उक्त प्रतियोगितामा १६ राष्ट्र सम्मिलित थिए।

मलेशियामा भएको प्रतियोगिताको सेमिफाइनलमा आयोजक मलेशियाले अन्तिम बल खेल्नुअगाडि नै नेपाललाई पराजित गरेको थियो।

पूर्वनिर्धारित नियमानुसार फाइनलमा पुग्ने दुई टोलीले एशिया कपमा आफ्नो स्थान पक्का गरे। तर पछि एसीसीले सेमिफाइनल खेल्ने टोलीलाई पनि एशिया कपमा समावेश गर्ने निर्णय गरेपछि नेपाल र थाईल्यान्डले पनि अवसर पाए।

एशिया कपमा नेपालको यो तेस्रो सहभागिता हो। यसअघि सन् २०१२ र सन् २०१६ को नेपाली महिला टोलीले एशिया कप खेलेको थियो।

यद्यपि नेपालले ती प्रतियोगिताका सबै आठ खेलमा पराजित भई पहिलो चरणबाट बाहिरिनुपरेको थियो।

भारत र पाकिस्तानको समूहमा नेपाल

जुलाई १९ देखि २८ सम्म श्रीलङ्कामा हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। भारत, पाकिस्तान र यूएई सोही समूहमा छन्।

अर्को समूहमा श्रीलङ्का, बाङ्ग्लादेश, थाईल्यान्ड र मलेशिया छन्।

प्रत्येक समूहका दुई टोली सेमिफाइनल पुग्ने छन्। सेमिफाइनल विजेताहरूबीच जुलाई २८ मा उपाधिका लागि प्रतिस्पर्धा हुने छ।

नेपालको पहिलो खेल शुक्रवार दिउँसो नेपाली समयानुसार २:१५ बजे यूएईसँग हुने छ। सोही दिन भारत र पाकिस्तानबीच अर्को खेल हुने छ।

नेपाली टोली कति बलियो

महिला क्रिकेट

यो प्रतियोगितामा नेपाली टोलीले प्रतिद्वन्द्वीहरूलाई चुनौती दिन धेरै परिश्रम गर्नुपर्ने देखिन्छ। महिला टोलीले गरेको पछिल्लो प्रदर्शनलाई आधार मान्ने हो भने नेपाली टोली बलियो स्थितिमा देखिँदैन।

छनोट चरणमा मलेशियासँग पराजित हुँदा नेपालको स्तर अझ खस्केको मानिएको थियो। डेढ साताअघि श्रीलङ्का पुगेर तीन अभ्यास खेल्दा नेपाली टोली श्रीलङ्काको स्थानीय टोलीसँग दुई खेलमा पराजित भयो।

यद्यपि एशिया कपका लागि नेपाल क्रिकेट सङ्घले झन्डै ४५ दिनको बन्द प्रशिक्षण र श्रीलङ्कामा तीन अभ्यास खेलको अवसर प्रदान गरेकाले केही सुधार भएको ठानिएको छ।

नेपाली टोलीका प्रशिक्षक मनोज कटुवाल भन्छन्, “टोलीमा धेरै सुधार भएको छ। खेलाडीहरूले लय समातेका छन्। आत्मविश्वास धेरै नै बढेको छ।”

नेपाली टोलीको मुख्य समस्या खेलाडीहरूको तन्दुरुस्तीमा देखिएको थियो। पछिल्ला खेलहरूमा अनावश्यक ‘रन आउट’ हुँदा तथा चौका जोगाउन नसक्दा खेलाडीहरूको तन्दुरुस्तीबारे प्रश्न उठेको थियो।

वर्षाले गर्दा टोलीले मैदानमा धेरै अभ्यास गर्न नपाएको भए पनि कीर्तिपुरको प्रशिक्षण ‘फिटनेस’मा बढी केन्द्रित थियो। यद्यपि पुरुष टोलीका सदस्यहरूले सघाएको प्रशिक्षणमा आफ्नो मनोबल बढेको खेलाडीहरूले श्रीलङ्का उड्नुअघि बताएका थिए।

अवसर

नेपाली महिला क्रिकेट टोली

महिला क्रिकेटमा अरू असोसियट राष्ट्रहरू बलियो बन्दै आएको स्पष्ट देखिन्छ। तर कुनै बेला असोसिएट राष्ट्रमा ठूलो प्रभाव जमाएको नेपाली टोली अहिले सङ्घर्षको चरणमा फर्किएको छ।

अनपेक्षित रूपमा एशिया कपमा खेल्न पुगेको नेपाली महिला टोलीले यो अवसरलाई सदुपयोग गर्न सक्छ कि सक्दैन त्यो हेर्न भने बाँकी नै छ।

“महिला टोली अहिले पुराना र नयाँ खेलाडीहरूको सम्मिश्रणमा नयाँ स्वरूपमा अगाडि बढ्ने बाटोमा छ। एशिया कपमा त्यसको झल्को दिने हाम्रो प्रयास हुने छ,” कप्तान इन्दु वर्माले भनिन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार