दक्षिण अफ्रिका- दक्षिण अफ्रिकामा जारी आइसिसी यू–१९ विश्वकप क्रिकेटको फाइनल खेल आज हुँदै छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ ।
सेमिफाइनलमा भारतले घरेलु टोली दक्षिण अफ्रिकालाई पराजित गर्दा अस्ट्रेलियाले पाकिस्तानलाई स्तब्ध बनाएको थियो । भारतले हालसम्म पाँचपटक यू–१९ विश्वकपको उपाधि जितेको छ । भारतले आठपटक फाइनलमा स्थान बनाउँदा पाँचपटक उपाधि जितेको हो । भारतीय टोली कीर्तिमानी छैटौँपटक च्याम्पियन बन्ने लक्ष्यका साथ अस्ट्रेलियाविरुद्ध मैदान उत्रनेछ ।
भारतले पहिलोपटक सन् २००० मा उमेर समूहको विश्वकप उपाधि जितेको थियो । उक्त भारतीय टोलीमा मोहम्मद कैफ कप्तान थिए । यसपछि भारत सन् २००६ को यू–१९ क्रिकेट विश्वकपको फाइनलमा पुग्यो । तर, ऊ फाइनल खेलमा पाकिस्तानसँग पराजित भयो । विराट कोहलीको कप्तानीमा रहेको भारतीय टोलीले सन् २००८ को अन्डर–१९ क्रिकेट विश्वकप जितेको थियो ।
त्यसपछि सन् २०१२ मा भारतीय टोली तेस्रोपटक च्याम्पियन बन्यो । उक्त भारतीय टोलीमा उन्मुक्त चन्द कप्तान थिए । यस्तै, इशान किशनको नेतृत्वमा रहेको टोली यू–१९ क्रिकेट विश्वकपको फाइनलमा पुगे पनि भने उपाधि जित्न सकेन ।
त्यसपछि भारतीय टोली यू–१९ क्रिकेट विश्वकप २०१८ को फाइनलमा पुगेको थियो । त्यसपटक पृथ्वी शाको कप्तानीमा रहेको भारतले उपाधि जित्न सफल भयो । भारतीय टोलीले पाँचौंपटक अन्डर–१९ क्रिकेट विश्वकप २०२२ को उपाधि जितेको थियो । त्यतिबेला भारतीय टिमको नेतृत्व यश धुलले गरेका थिए । यसपटक भारतीय टिमको कप्तानी उदय सहारनले गरिरहेका छन् ।
अस्ट्रेलियाले सन् १९८८ मा यू–१९ विश्वकपको उपाधि जितेको थियो । त्यसपछि उसले २००२ मा र २०१० मा उपाधि जित्यो । अस्ट्रेलिया चौथो उपाधिको खोजीमा छ । यू–१९ विश्वकपमा अहिलेसम्म भारत र अस्ट्रेलिया दुईपटक उपाधि भिडन्त गर्दा दुवैपटक भारत विजयी भएको इतिहास छ ।
यसपटक पनि भारत अस्ट्रेलियाविरुद्ध आफ्नो अपराजित यात्रा कायमै राख्दै उपाधि जित्ने सोचमा छ । अस्ट्रेलिया भारतलाई स्तब्ध बनाउँदै चौथोपटक यू–१९ विश्वकपको उपाधि जित्ने दाउमा छ ।
प्रतिक्रिया दिनुहोस्