आज विभिन्न ५ प्रदेशमा भारी वर्षा र ४ प्रदेशमा हावाहुरीसमेतको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सुझाव दिएको छ । कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा चट्याङ्गसहित भीषण वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
लुम्बिनी, गण्डकी र बागमती प्रदेशको तराई भूभाग र मधेस प्रदेशका थोरै स्थानमा हावा हुरीसमेत चल्न सक्छ ।
भीषण वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय तथा हावाहुरीजस्ता प्रकोप हुन सक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको हो ।
आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।
राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा चट्याङ्गसहित भारी वर्षा हुनसक्ने मौसमविद्ले बताएका छन् । रातको समयमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा हावाहुरी चल्न सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ ।


			
					
					
					
					
					

                    
                    
                    
                    
                    
                    
प्रतिक्रिया दिनुहोस्