अछाम — सामाजिक सञ्जालका लागि प्र्याङ्क भिडियो बनाउने क्रममा स्थानीय नागरिकलाई अभद्र व्यवहार गरेको आरोपमा अछाम प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार चौरपाटी गाउँपालिका–५ का २० वर्षीय डण्डी जोगी र १८ वर्षीय शंकर जोगीलाई नागरिकलाई हैरानी दिने तथा असहज बनाउने गतिविधि गरेको भन्ने उजुरीपछि नियन्त्रणमा लिइएको हो।
उनीहरूलाई साउन १४ गते साँझ मङ्गलसेन नगरपालिका–५ स्थित मङ्गलसेन बजारबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
पीडित पक्षसँग छलफलपछि दुवैले आगामी दिनमा यस्ता गतिविधि नगर्ने लिखित प्रतिबद्धता जनाएपछि प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।
प्रहरीले सामाजिक सञ्जालमा सामग्री बनाउँदा अरूको सम्मान, गोपनीयता र सार्वजनिक मर्यादामा असर पर्ने गतिविधि नगर्न सबैलाई आग्रह गरेको छ।




प्रतिक्रिया दिनुहोस्