धनगढी: डोटीमा मादक पदार्थ सेवन गरेका एक शिक्षकले श्रीमतीमाथि कुटपिट गर्दा उनको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले शिक्षकलाई पक्राउ गरी अनुसन्धान थालेको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जोरायल गाउँपालिका–४ देउथली निवासी ५१ वर्षीय चन्द्रबहादुर ओलीले बुधबार दिउँसो मदिरा सेवनपछि आफ्नी ४७ वर्षीया श्रीमती अमृता ओलीमाथि कुटपिट गरेका थिए। कुटपिटबाट उनको पेटको बायाँ भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।
घाइते अमृतालाई प्रारम्भिक उपचारका लागि स्वास्थ्य चौकी चन्कट्टे लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल रेफर गरिएकोमा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले जानकारी दिए।
घटनापछि प्रहरीले चन्द्रबहादुर ओलीलाई नियन्त्रणमा लिएको छ। उनी स्थानीय जगदम्बा आधारभूत विद्यालयका शिक्षक रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्