धनगढी – मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीले नेपाल प्रज्ञा-प्रतिष्ठानको कुनै पनि पदमा आफू नजाने स्पष्ट पारेका छन्। गठनको तयारीमा रहेको प्रज्ञा-प्रतिष्ठानको नियुक्तिलाई लिएर विभिन्न चर्चा भइरहेका बेला जोशीले वक्तव्य जारी गर्दै पदप्रतिको कुनै मोह नरहेको र आफ्नो मूल धर्म स्वतन्त्र लेखन तथा साहित्य सेवा नै भएको बताएका हुन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै जोशीले विक्रम संवत् २०७९ देखि हालसम्म प्रतिष्ठानको सदस्य-सचिवलगायतका विभिन्न पदका लागि पटक-पटक प्रस्ताव आएको खुलासा गरेका छन्। उनका अनुसार तत्कालीन समयमा डा. जगमान गुरुङ कुलपति बन्ने सम्भावना रहँदा सदस्य-सचिवका रूपमा सहकार्य गर्न आग्रह गरिएको थियो। तर, प्रशासनिक जिम्मेवारीमा अल्झिनुभन्दा स्वतन्त्र रूपमा लेखन र साहित्य सिर्जनामा केन्द्रित हुने चाहना राख्दै उक्त प्रस्ताव अस्वीकार गरेको उनले जनाएका छन्।
पछिल्लो समय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री गणेश पौडेल र विभिन्न साहित्यिक व्यक्तित्वहरूसँगको छलफलका क्रममा प्रज्ञा-प्रतिष्ठानमा आबद्ध हुने विषयमा पुनः कुराकानी भएको जोशीले उल्लेख गरेका छन्। सुरुमा उपकुलपति वा सदस्य-सचिवको जिम्मेवारीका लागि छलफल भए पनि पछि ‘सदस्य’ मात्र बन्न आग्रह गरिएपछि आफूले उक्त प्रस्ताव पूर्ण रूपमा अस्वीकार गरेको उनको भनाइ छ।
यस्तै, लोकगायक तथा संस्कृतिविद् यज्ञराज उपाध्यायसँग मिलेर सञ्चालन गरिरहेको ‘पठन संस्कृति उत्प्रेरणात्मक अभियान’ लाई बीचमै छाड्न नचाहेकाले त्यसलाई निरन्तरता दिन उपाध्यायको पनि नियुक्ति हुनुपर्ने विषय आफूले उठाएको उनले स्पष्ट पारेका छन्।
“मेरो मूल धर्म लेखन हो, मूल कर्म साहित्य सेवा हो। यो धर्म र कर्मबाट म कहिल्यै विचलित हुने छैन,” जोशीले भनेका छन्। प्रज्ञा-प्रतिष्ठानका कुनै पनि पदमा आफू नजाने औपचारिक जानकारी गराउँदै उनले आगामी दिनमा पनि स्वतन्त्र साहित्य साधनामै निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।




प्रतिक्रिया दिनुहोस्