काठमाडौँ- केही दिनयता बाल कलाकार अशोक दर्जीमाथि कुटपिट भएको घटनाको विषय चर्चामा छ। दर्जीले कुटाइ खाएको भिडियो सार्वजनिक भएपछि यो विषय चर्चामा आएको हो। यस घटनाबारे अनुशन्धान गर्न दर्जीले उजुरी समेत दिएका छन्। उनी निकट रहेकी अभिनेत्री निता ढुङ्गानाका अनुसार दर्जीलाई चरित्रहत्या गर्ने र धम्की दिएको आरोप लागेका व्यक्तिहरू फरार रहेको तथा उनीहरूको खोजी भइरहेको छ।
ढुंगानाले इलाका प्रहरी कार्यालय बिर्तामोडले घटनामा संलग्न भनिएका व्यक्तिहरू सम्पर्कविहीन रहेको र खोजीकार्य जारी रहेको जानकारी दिएको उल्लेख गरेकी छन्। गत असार २२ गते उनले इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएका थिए।
दर्जीले निवेदनमा अंकित प्रधान र शनिश्चरेका शुक्रे भन्ने व्यक्तिले आफूलाई ‘चोरचोर’ भन्दै कुटपिट गरेको, भिडियो बनाएर सामाजिक सञ्जालमा राखेको र हटाइदिन आग्रह गर्दा पनि धम्क्याउँदै आएको उल्लेख गरेका छन्।
उनका अनुसार घटना मामाघर गएका बेला भएको थियो। बिर्तामोडको महानन्द चोकमा खाजा खाने क्रममा एक हजार रुपैयाँ हराएको विषयलाई लिएर विवाद सुरु भएको र त्यसको केही दिनपछि नजिकैको देवीबस्ती गेट नजिक स्कुटरमा पेट्रोल हालिरहेका बेला आफूलाई कुटपिट गरिएको दाबी उनले गरेका छन्।
आइतबार साँझ उनीमाथिको कुटपिटको भिडियो टिकटकमा भाइरल भएको थियो । भिडियोमा एक युवकले दर्जीलाई गालामा थप्पड हानेको दृश्य देखिन्छ। भिडियो भाइरल भएसँगै घटनाबारे सार्वजनिक चासो बढेको छ। प्रहरीले जाहेरीका आधारमा घटनामा संलग्न भनिएका व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीले अंकितलाई सम्पर्क गरिसकेको छ। शुक्रेचाहिँ भारततिर फरार रहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्