दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुला: दार्चुलाको चमेलिया नदीमा २८.३० मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण प्रक्रिया थप अघि बढेको छ। आयोजनाको डिजाइन र संरचनामा गरिएको परिवर्तनका कारण आवश्यक पूरक वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) अध्ययनका लागि कृषि, वन तथा पर्यावरण मन्त्रालयले सार्वजनिक सूचना जारी गरेको हो।

दार्चुला पावर कम्पनीद्वारा प्रवर्द्धित यो आयोजना अपी नाम्पा संरक्षण क्षेत्रअन्तर्गत मार्मा गाउँपालिकामा निर्माण हुने भएको छ। नदी प्रवाहमा आधारित आयोजनाले २०८१ चैत १३ गते विद्युत् विकास विभागबाट उत्पादन अनुमति प्राप्त गरिसकेको छ। आयोजनाका सम्पूर्ण संरचना चमेलिया नदीको बायाँ किनारमा निर्माण गर्ने योजना छ।

यसअघि २०८० चैत ७ गते तत्कालीन वन तथा वातावरण मन्त्रालयले आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत गरेको थियो। त्यसपछि २०८२ पुस २१ गते पूरक वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययनका लागि सहमति प्रदान गरिएको थियो। मन्त्रालयका अनुसार आयोजना निर्माणको डिजाइन र संरचनामा परिवर्तन गरिएकाले त्यसबाट वातावरणमा पर्न सक्ने प्रभावको पुनः अध्ययन गर्न लागिएको हो।

आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता नेपाल विद्युत् प्राधिकरण र प्रवर्द्धक कम्पनीबीच २०८० असोज २९ गते सम्पन्न भएको थियो। त्यस्तै, २०८२ जेठ २१ गते वित्तीय व्यवस्थापन पनि पूरा भइसकेको छ, जसले आयोजना निर्माणको बाटो थप सहज बनाएको छ।

गोकुलेश्वरबाट करिब ३० किलोमिटर उत्तर–पश्चिममा रहेको आयोजनास्थल चमेलिया नदीको जलविद्युत् सम्भावना रहेको क्षेत्रमा पर्छ। यस नदीको माथिल्लो भागमा ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजना र तल्लो भागमा ३० मेगावाट क्षमताको चमेलिया खोला जलविद्युत् आयोजना सञ्चालनमा रहेका छन्।

निर्माण सम्पन्न भएपछि आयोजनाबाट उत्पादन हुने विद्युत् बलाच सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ। आयोजनाबाट वर्षायाममा ११८.५२ गिगावाट घण्टा र हिउँदमा ६७.१० गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ। करिब तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित अघि बढाइएको यस आयोजनाको कुल लागत ६ अर्ब २३ करोड ६२ लाख ६७ हजार ३९० रुपैयाँ रहने जनाइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार