काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगन थापाको आसन्न भारत भ्रमण अन्तिम समयमा आएर स्थगित भएको छ ।
भ्रमणका लागि शनिबार नै नयाँदिल्ली प्रस्थान गर्ने तयारी भए पनि उनको भ्रमण अन्तिम समयमा रोकिएको हो । सभापति थापा पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा सहभागी हुन दिल्ली जाने कार्यक्रम थियो ।
सुरुमा शनिबार भारत जाने तयारी गरेका थापा पछि आइतबार प्रस्थान गर्ने गरी कार्यक्रम संशोधन गरिएको थियो। तर आइतबार उनले पार्टीका प्रदेश प्रमुख, प्रदेश सभापतिलगायत नेतासँग छलफलका लागि बैठक बोलाएपछि भारत भ्रमण स्थगित भएको हो ।
उच्च स्रोतका अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता सुनिश्चित हुन नसकेपछि थापाले भ्रमण तत्कालका लागि स्थगित गरेका हुन् ।
भ्रमणका क्रममा भारतीय राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने तयारी रहे पनि प्रधानमन्त्री मोदीसँगको भेट तय नभएपछि कार्यक्रम अघि नबढाइएको स्रोतको दाबी छ ।
यद्यपि नेपाली कांग्रेस वा थापाको सचिवालयले भ्रमण स्थगित हुनुको कारणबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन ।
भ्रमणको नयाँ मिति पनि तय भइसकेको छैन ।




प्रतिक्रिया दिनुहोस्