कञ्चनपुरमा श्रीमानबाट कुटपिटमा परेकी महिलाको मृत्यु भएको छ । दोधाराचाँदनी नगरपालिका–१० फगिरे चौराहामा श्रीमानको कुटपिटपछि उपचार गराएर घर फर्किएकी महिलाको भोलिपल्ट मृत्यु भएको हो ।
प्रहरीका अनुसार बुधबार दिउँसो करिब ४५ वर्षीय रनबहादुर सुनारले आफ्नी ४२ वर्षीया श्रीमती पारु सुनारमाथि कुटपिट गरेका थिए । घटनामा पारुको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो ।
घटनापछि रनबहादुर पनि एक्कासि बेहोस भएका थिए । दुवै जनालाई उपचारका लागि दोधाराचाँदनी अस्पताल लगिएको थियो ।
उपचारपछि सोही दिन राति करिब दुवै जना घर फर्किएका थिए । तर, आज बिहान पारु सुनार आफ्नै घरमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले रनबहादुर सुनारलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्