धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित गर्ने प्रयासमा मुख्यमन्त्री कमलबहादुर शाहलाई अर्को झट्का लागेको छ। सरकारबाट एमाले अलगिएपछि समर्थन जुटाउने प्रयासस्वरूप गरिएको नेकपासँगको छलफल निष्कर्षविहीन बनेको हो।
बजेट पारितका लागि आवश्यक समर्थन सुनिश्चित गर्न मुख्यमन्त्री शाहले नेकपा संसदीय दलसँग छलफलको प्रस्ताव गरेका थिए। त्यसअनुसार नेकपा संसदीय दलका नेता खगराज भट्टले सांसद मानबहादुर धामी र रमेश धामीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वार्ताका लागि पठाएका थिए।
छलफलका क्रममा मुख्यमन्त्री शाहले प्रदेश सरकारको बजेट पारित गर्न सहयोग गरिदिन आग्रह गरेका थिए। तर नेकपाका प्रतिनिधिहरूले वर्तमान राजनीतिक अवस्थालाई देखाउँदै बजेटका पक्षमा उभिन नसकिने स्पष्ट पारेका थिए।
दुवै पक्षबीच लामो छलफल भए पनि कुनै सहमति हुन सकेन। त्यसपछि नेकपाका प्रतिनिधिहरू सहमतिविना नै फर्किएको स्रोतले जनाएको छ।
एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रदेश सरकार अल्पमतमा परेको छ। यस्तो अवस्थामा बजेट पारित गर्न अन्य दलको साथ अपरिहार्य बनेको भए पनि नेकपाले सहयोग अस्वीकार गरेपछि सरकारको बजेट पारित गर्ने प्रयास थप जटिल बनेको छ।




प्रतिक्रिया दिनुहोस्