कांग्रेसको प्रश्न : आत्महत्या दुरूत्साहनको मुद्दा सरकारमाथि चल्ने कि नचल्ने ?

३१ असार, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई सांसद्का प्रश्नको जवाफ दिन सभामुख डोलप्रसाद अर्यालले रुलिङ गर्नुपर्ने माग राखेको छ ।

बुधबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै विपक्षी दलहरू उठे । त्यसपछि सभामुखले कांग्रेसकी सांसद गीता गुरुङलाई बोल्न समय दिए ।

आफूहरूले प्रधानमन्त्री बालेनलाई निरन्तर प्रश्न गर्दै आएको तर जवाफ नपाएको भनेर उनले सभामुखले रुलिङ गर्नुपर्ने माग राखेकी हुन् ।

‘संसद्मा निरन्तर सम्माननीय प्रधानमन्त्री ज्यूको खोजी भइरहेको छ । प्रतिनिधि सभा नियमावलीले प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बनाएको छ । त्यसैले प्रधानमन्त्रीलाई सदनमा उपस्थित भई सांसदका प्रश्नहरूको जवाफ दिन सभामुखज्यू मार्फत रुलिङको माग गर्दछु,’ उनले भनिन् ।

प्रधानमन्त्री युवा पुस्ताको प्रतिनिधि भएकाले देशभरिका युवाले तपाईं प्रति ठूलो आशा गरेको उनले बताइन् ।

‘तपाईं प्रतिको विश्वास केवल एउटा व्यक्तिमाथिको विश्वास हैन युवा नेतृत्वमाथिको विश्वास हो,’ उनले भनिन्, ‘पुरानो राजनीतिक शैलीभन्दा फरक नेतृत्व दिने अपेक्षा हामी सबैको थियो तर आज दुखका साथ भन्नु परेको छ ।’

सरकारप्रतिको आशा विस्तारै निराशामा बदलिन थालेको भन्दै उनले देशमा दिन दिनै घटिरहेका घटनाले आशाभन्दा निराशा बढाइरहेको बताइन् ।

‘प्रश्न उठ्दा त्यसलाई स्टन्टले छोपेर विषयान्तर गर्ने प्रयास सरकारको लागि अब पुरानो शैली बनिसकेको छ,’ उनले भनिन्, ‘मन्त्रीहरूको सम्पत्तिमाथि प्रश्न उठ्दा सुकुमवासी बस्तीमा डोजर चल्यो ।’

तत्कालिन सचिव कृष्ण हरि पुस्करलाई पक्राउ गर्दा प्रधानमन्त्री र मन्त्रीहरूको स्टाटसमा रमाइलो चलेको उल्लेख गर्दै उनले थपिन्, ‘कीर्तिपुर स्थित सुकुमवासी राखिएको ठाउँ डुबानमा पर्दा मानिसहरू आपतमा परे हाहाकार मच्चियो । यता आत्मदाहका ३ घटना त्रिपुरेश्वर बुद्धनगर र सर्लाहीमा हुँदा अहिले मिडियाको गेट र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगन कुमार थापा ज्यूको निवास अघिल्तिर गाडी राखिएको फण्डा आएको छ ।’

यी केही प्रतिनिधिमूलक उदाहरणहरू प्रस्तुत गर्दै उनले सरकार विषयान्तर गर्न माहिर रहेको बताएकी हुन् ।

सुकुमवासीको बिचल्लीको चर्चा गरिरहँदा आफूले प्रधानमन्त्रीले संसद्को रोस्टमबाट भनेका अभिव्यक्ति सम्झिएको उनले बताइन् ।

बिना तयारी किन सुकुमवासी बस्ती हठातमा खाली गरियो भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्रीले नदी किनारमा डुबानको कारण सुकुमवासीहरू समस्यामा पर्ने भएकोले उनीहरूको जीवन रक्षाको लागि स्थानान्तरण गरिएको भनेर दिएको अभिव्यक्ति स्मरण गरिन् ।

तर यसअघि नै डुबानमा पर्ने गरेको कीर्तिपुरको डुबान हुने क्षेत्रमा नै लगेर सुकुम्बासीहरुलाई किन राखिएको भन्ने उनको प्रश्न छ ।

सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाए पछि मृत्यु हुनेको संख्या ९ पुगेको भन्दै उनले उनीहरूको नाम लिइन् ।

१८ वर्षका रबिन तामाङ, ५७ वर्षीय इन्द्र बहादुर राई, ५० वर्षीय कमला बलम्पाखी, ६८ वर्षका कर्णबहादुर श्रेष्ठ, ३६ वर्षका भेषराज दर्जी, ६६ वर्षीय पार्वती विश्व, ३९ वर्षीय सुशीला थापा मगर, ७५ वर्षीय रतन देवी मलाहानीदेखि १८ महिनाका उज्ज्वल तामाङसम्मले राज्यले दिएको अव्यवहारिक नीतिको कारण ज्यान गुमाउनु परेको बताइन् ।

‘यो राज्य संयन्त्रले गरेको संस्थागत हत्याको निन्दा गर्दछु’ उनले भनिन्, ‘राज्यले डोजर चलाउन सुरु गरेपछि सुकुमवासीहरुले शृंखलाबद्ध रुपमा गरेको आत्महत्या केवल आत्महत्या मात्र होइन सरकारद्वारा गरिएको आत्महत्या दुरुत्साहन हो । आत्महत्या दुरुत्साहनको मुद्दा सरकारमाथि अब चल्ने कि नचल्ने ?’

सुकुमवासी बस्तीका बालबालिका सहज रुपमा स्कुल जान नपाएको भनेर उनले सरकारको ध्यानाकर्षण गरिन् ।

‘सयौं बिरामी परेका छन् वृद्ध वृद्ध सहारा खोजिरहेका छन् । आज सुकुम्बासी नागरिकहरु भन्दै हुनुहुन्छ यति धेरै निर्मम र निर्दय सरकार त अहिलेसम्म देखेकै थिएनौं त्यसैले तपाईंलाई आग्रह छ । इतिहासमा सफल प्रधानमन्त्री बन्ने बाटो रोज्नुहोस्,’ बालेनलाई उनको सुझाव छ, ‘असफलताको एक्सप्रेस वे होइन, गन्तव्यमा पुग्न गति मात्र उच्च भएर पुग्दैन । दिशा पनि ठिक हुनुपर्छ । तपाईंको एक्सप्रेस वेको दिशामा आज शंका उब्जिएको छ ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार