प्रधानमन्त्री बालेनलाई ‘श्री ८’ बनाएर प्रश्न गर्न नदिने प्रयास भयो: निश्कल राई

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन्द्र साहलाई ‘श्री ८’ को संज्ञा दिँदै सरकारले नागरिकलाई प्रश्न गर्नसमेत रोक लगाउन खोजेको आरोप लगाएका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सचेतक राईले सरकारले प्रधानमन्त्री साहलाई प्रश्न गर्न पाइँदैन भन्ने भाष्य स्थापित गर्न खोजेको दाबी गरे ।

उनले सरकारले नागरिकले आफूले सुन्न चाहेको विषय मात्रै बोल्न पाउने अवस्था सिर्जना गर्न खोजेको आरोप लगाए । प्रश्न गर्नेहरूमाथि दमनको नीति लिइएको भन्दै उनले आपत्ति जनाए ।

सचेतक राईले पार्टी सभापति गगन थापा तथा विभिन्न सञ्चारमाध्यमका कार्यालय अगाडि सवारीसाधन राखेर प्रश्न गर्नेहरूलाई त्रसित बनाउने काम भएको बताए ।

उनले सुकुम्बासी बस्ती, गणेश नेपाली मृत्यु प्रकरण र सडकमा सवारीसाधन राखेर सिर्जना गरिएको त्रासका घटनालाई एउटै प्रवृत्तिसँग जोडेर हेर्नुपर्ने बताए ।

‘आफैँले ल्याएको सरकारको लाठी आज उनैले खाइरहेका छन् । सोमबारको घटना सभापतिज्यूको घरमा मात्रै भएको होइन । कान्तिपुर, अनलाइनखबर जस्ता प्रतिष्ठित समाचार गृहमा पनि त्यस्तै गाडी छाडेर हिँडिन्छ । त्यो पनि सत्तारुढ दलका नेताको गाडी हो,’ उनले भने ।

उनले प्रश्न गर्ने नागरिकलाई सजाय दिने प्रवृत्ति सरकारले देखाएको आरोप लगाए ।

‘प्रश्न सोध्नेलाई सजाय दिने प्रवृत्ति छ सरकारको । बहुमतले संविधान उल्लंघन गर्ने लाइसेन्स दिँदैन । बहुमतले जनताको अधिकार कुल्चन पाउँदैन,’ उनले भने ।

सचेतक राईले गृहमन्त्रीले समेत आफ्नो मन्त्रालयको कमजोरी स्वीकार नगरी स्थानीय तहलाई दोष दिने गरेको आरोप लगाए ।

उनले सरकारले संविधान र कानूनको सीमाभित्र रहेर उठाइने प्रश्नभन्दा आफूलाई माथि देखाउन खोजेको बताए ।

‘सरकारले खासगरी श्री ८ बालेन्द्र साहलाई प्रश्न गर्न पाइँदैन भनेर स्थापित गर्न खोजिरहेको छ । यो सरकार भन्दैछ– तँ बोल, जे म सुन्न चाहन्छु । तँ हेर, जति म देखाउन चाहन्छु,’ उनले भने ।

सचेतक राईले सरकारलाई जनताको अधिकार कुल्चने कुनै अधिकार नभएको बताए । उनले प्रश्न गर्ने नागरिकमाथि दमन नगर्न सरकारलाई सचेत गराए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार